संघीयता कार्यान्वयनको चरणमै गणतन्त्र विरोधीहरु सलबलाउन थाले, सबैले मिलेर प्रतिकार गर्नुपर्छ : डा. भट्टराई



११ असोज २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौं महानगरपालिका वडा नं ७ द्वारा आयोजित पार्टी अगुवा कार्यकर्ता भेलामा नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनकै चरणमा गणतन्त्र विरोधीहरुले सिङ्गो व्यवस्थाको विरुद्ध आवाज उठाउन थालेकोे बताएका छन् ।

चुनावी समयमा हामीले बहुमत ल्याउने वित्तिकै सबै कुरा ठिकठाक हुन्छ भन्यौं, आम नागरिकले पनि त्यही ढंगमा बुझे । यो बीचमा सरकारले कानुन निर्माण, संघीय संरचना अनुसार तीनै तहका सरकारहरुको कार्यालय संरचना, कर्मचारी व्यवस्थापन र पार्टी एकता एकै पटक गर्नुपर्ने भएकोले जनताले देखिने काम हुन नसकेको बताउँदै यो आर्थिक बर्षदेखि विकासले गति लिने बताए ।

वर्तमान सरकारको सबैभन्दा ठूलो चुनौती ब्यूरोक्रेशी रहेको बताउँदै दुई दशकदेखि मनपरितन्त्रमा चलेका निजामती कर्मचारीहरुको ब्यवस्थापन र जिम्मेवारी बोधको अभावले सरकारले चाहेअनुरुप काम गर्न नसकेको अवस्थामा व्यवस्था विरोधीहरुले सिङ्गो व्यवस्थामा धावा बोल्न थालेको स्मरण गर्दै सरकारले गरेको काम र लोकतान्त्रिक व्यवस्थाको डिफेन्स गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नु पर्ने बताए ।

कार्यक्रममा नेकपा ३ नं. प्रदेश कमिटी सदस्य निर्मल कुईकेलले पार्टी केन्द्रीय सचिवालयको कमजारीका कारण पार्टी एकता ढिला भएको बताउँदै पार्टी घोषणा पत्र कार्यान्वयन गर्नु जित्ने जनप्रतिनिधीको जिम्मेवारी रहेको धारणा राखे ।

नेकपा काठमाडौं महानगरका अध्यक्ष निर्मल देउलाले विकास निर्माणमा पार्टी कार्यकर्तालाई सँगसँगै लिएर अगाडी बढ्नुपर्ने धारणा राखे । सधैंभरी फुट्ने कम्युनिष्ट पार्टी अहिले जुटेकोमा गर्व गर्नुपर्छ भन्दै सहमति र विधिमा टेकेर महानगरको एकता छिट्टै टुङ्ग्याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका सभाध्यक्ष तथा कामपा वडा नं ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोलले आफूले विकास निर्माणमा गरेका कामहरु आवश्यक प्रचारको अभावले जनतामाझ पुग्न नसकेको बताउँदै आगामी दिनमा पार्टी कार्यकर्तासँग थप छलफल गर्दै कार्यक्रम तय गर्ने धारणा राखे ।

छलफलमा नेकपाका स्थानीय नेताहरु उद्धव वडाल, दिपेन्द्र पुडासैनी, पुण्यरत्न बज्राचार्य, आत्माराम पुडासैनी, रामेश्वर केसी, बाबुराम काफ्ले, उत्तम पोखरेल, सूर्यबहादुर श्रेष्ठ, हरीकृष्ण खरेल, राममणी भट्टराई र मिलन खरेलले स्थानीय सरकार र पार्टी कार्यकर्ताबीच तालमेल नभएको, वडाद्वारा संचालित कार्यक्रम वडावासीमाझ नपुर्‍याएको, एकै खाले मान्छेहरु विभिन्न तालिममा सहभागी भएको, जनप्रतिनिधीले पार्टी घोषणा पत्र अनुसार काम नगरेको, सार्वजनिक जग्गा संरक्षणमा वडाले आवश्यक ध्यान नदिएको, तरकारी बजार र सिफल चौर लगायत अन्य स्थानमा रहेका सामाजिक संघ संस्थाहरुको काम पारदर्शी नभएको लगायतको गुनासो गरेका थिए ।

नेकपा स्थानीय नेता आशिष श्रेष्ठद्वारा संचालित कार्यक्रममा सबै वडा सदस्यहरु, पार्टी अगुवा कार्यकर्ताहरु, स्थानीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो ।

   

प्रतिक्रिया दिनुहोस्