दुई कम्युनिष्ट पार्टीको कार्यक्रम अनुभव आदान–प्रदानमा कोसेढुङ्गा



०८ असोज २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टी र चिनियाँ कम्युनिष्ट पार्टीको स्कुल र विदेश विभागद्वारा संयुक्त रुपमा आयोजित कार्यक्रममा सहभागी हुदाँ यो कार्यक्रम दुइवटा पार्टीहरुबिचको अनुभव आदानप्रदानको रुपमा मात्रै बुझ्न सकिने खालको थियो ।

कार्यक्रमको अध्यक्षता गर्दै नेकपा स्कूल विभाग प्रमुख तथा उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यो कार्यक्रम दुईवटा पार्टीबिचको सम्बन्धलाई विस्तार गर्ने बताएका थिए । उद्घाटन सत्रमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री  तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएका भाषणहरु सबैमाझ सार्वजनिक गरिएको थियो ।

दुवै दिनका कार्यक्रममा प्रेस जगतलाई निर्वाद रुपमा प्रवेश दिइएको थियो । तोकिएका करिब २०० पार्टी केन्द्रिय सदस्यहरुलाई निमन्त्रणा गरिएको भएपनि उपस्थितहरुको संख्यामा केन्द्रीय सदस्य भन्दा अन्य सहभागीहरु बढी देखिन्थे ।

चिनियाँहरु सरकार वा पार्टीले दिएका जिम्मेवारी भन्दा अन्य कुरा गर्दैनन् । चिनियाँ भाषामा गरिएका ३ वटा प्रस्तुतीहरु गरिबी घटाउन चीनको सफलता, चिनियाँ कम्युनिष्ट पार्टीको सांगठनिक र जिम्मेवारी बाँडफाँडको बिषय र चिनियाँ राष्ट्रपति सी जिन फिङ विचारधाराको रुपमा बिआरआइको विषयमा चिनियाँ पार्टीका विषयविज्ञ तथा केन्द्रीय नेताहरुले चिनियाँ भाषामा प्रस्तुतीकरण दिएका थिए भने चिनियाँ पार्टीको विदेश विभाग सदस्य सरला (नेपाली नाम) ले चिनियाँ भाषाबाट नेपाली भाषामा र नेपाली भाषाबाट चिनियाँ भाषामा सिंगो प्रस्तुतीको अनुवाद गरेकी थिइन् ।

बजारमा नेकपाले चिनियाँ कम्युनिष्ट पार्टीको विचारधारा अनुसरण गर्यो वा चिनियाँ कम्युनिष्ट पार्टीको भातृसंगठनको रुपमा नेकपाले भूमिका निर्वाह गर्यो भन्नु अतिरञ्जित मात्र हो ।

समापन सत्रमा नेकपा स्कूल विभाग प्रमुख इश्वर पोखरेलले कार्यक्रमको बारे अनावश्यक रुपमा नबुझ्न अनुरोध गर्दै यो कार्यक्रम २ पार्टीका अनुभवहरु आदानप्रदान गर्न आयोजना गरिएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमहरु अझ बढ्ने जानकारी दिएका थिए ।

नेकपा स्कुल विभाग उप–प्रमुख डा. बेदुराम भुसालद्वारा संचालित समापन सत्रमा कार्यक्रमबारे आफ्नो धारणा राख्न समय दिइएको औपचारिक कार्यक्रममा नेकपाका ५ नेताहरुले धारणा राखेका थिए ।

जसमा राष्ट्रिय सभासदस्य तथा केन्द्रीय नेता खिमलाल भट्टराईले अध्यक्षद्वय ओली र प्रचण्ड स्कूल विभाग प्रमुख पोखरेलको विचारले नेपाल चीनको सम्बन्ध बुझ्न सहज भएको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टीको विषयमा बुझ्न सजिलो भएको अनुभव सुनाउँदै आगामी दिनमा यस  किसिमका कार्यक्रमहरु आयोजना गर्नुपर्ने बताए ।

नेकपाकी नेतृ भगवती चौधरीले गरिबी निवारणमा चीनको सफलता प्रशसंनीय रहेको बताउँदै पार्टीले नीतिगत रुपमा निर्णय लिदाँ उक्त सफलता प्राप्त गरेको अनुभव भएको बताइन् ।

नेकपाका नेता गोरख बोगटीले कार्यक्रम चिनियाँ कम्युनिष्ट पार्टीबारे जानकारी दिएको बताउँदै धेरैलाई प्रवेश दिएर कार्यक्रम व्यवस्थित नभएको धारणा राखे ।

नेकपाकै रामवीर आचार्यले कार्यक्रम भव्य र राम्रो भएको, दुईपार्टीबिचको सम्बन्धले नयाँ उचाई लिएको बताउँदै फलामे अनुशासनका कारण चिनियाँ कम्युनिष्ट पार्टीले आजको सफलता प्राप्त गरेको धारणा राखे ।

अनेरास्ववियूका संयोजक ऐन महरले चिनियाँ कम्युनिष्ट पार्टीको आन्तरिक पार्टी जीवन र सांगठनिक जीवनबारे जानकारी पाइएको बताउँदै गरिबी निवारणमा चिनियाँ कम्युनिष्ट पार्टीले प्राप्त गरेको उपलब्धी नेपालका लागि फलदायी हुने बताए । त्यसैगरी चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु चुनाव नलडेपनि जनताप्रति उत्तरदायी रहेको बताउँदै त्यसबाट नेपालका नेताहरुले सिक्नुपर्ने बताए ।

चिनियाँ कम्युनिष्ट पार्टीकी स्कुल विभाग सदस्य प्राध्यापक चाओ लीले नेकपाको स्कुल विभागले कार्यक्रम आयोजना गरी अनुभव सुनाउन दिएकोमा धन्यवाद दिदैँ आर्र्थिक र सामाजिक पक्षमा थप छलफल गर्न सकिने धारणा राखिन् । सी जिन फिङको विचारधारा चीनको मार्क्सवाद र विकासको मोडल भएको बताउँदै चिनियाँ कम्युनिष्ट पार्टीको वर्तमान चुनौतीहरु सामना गर्न त्यसले उर्जा दिने बताइन् । यस किसिमका कार्यक्रमले अन्तरपार्टी सम्बन्ध विकासमा सहयोग हुने बताउँदै गरिबी निवारण गर्न सफल भएमात्र नेकपाले दिर्घकालीन शासन गर्नसक्छ भन्दै त्यस बाटोमा नेकपाले ध्यान दिनुपर्नेमा जोड दिइन् । आफ्नो देशमा सफल भएको गरिबी निवारण कार्यक्रमको बारेमा नेकपाले चासो राखे आगामी दिनमा छलफल गर्न सकिने बताउँदै आफूहरु प्रोफेसर भएकाले सहभागीहरुलाई मूल्याङ्कन गर्नुपर्दा ए प्लस मार्क दिने समेत बताईन् ।

दुवै पार्टीको मित्रता अमर रहोस् भन्ने कामना गर्दै दुवै देशका कम्युनिष्ट पार्टीको नेतृत्वले मुलुकमा समृद्धि आउने र जनताले सुख पाउने विश्वास रहेको बताइन् ।

यो पनि पढ्नुहोस् : 

‘नेपाल चीन सम्बन्ध पाँचौं शताब्दीदेखिको हो’ : अध्यक्ष प्रचण्ड (पूर्णपाठ)

‘चीनको चमत्कारिक विकासबाट नेपालले पनि फाइदा लिनुपर्छ’ : उपप्रधानमन्त्री पोखरेल (पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस्