पाटा ट्राभल मार्टमा नेपालको पर्यटन प्रवर्द्धन तथा पाटा नेपाललाई उत्कृष्ट च्याप्टर अवार्ड प्रदान



०७ असोज २०७६, काठमाडौं

पाटा नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले  ५ वटा निजि क्षेत्रका पर्यटन ब्यवसायी कम्पनिहरु क्रमशः द एक्सप्लोर नेपाल, नेपाल होलिडे मेकर्स टुर्स एण्ड ट्राभल्स, हिमालयन होलिडेज, फिसटेल टुर्स एण्ड ट्राभल्स र भृकुटी हिमालयन ट्रेक्स सहित सेप्टेम्बर १८ देखि २० सम्म काजखस्तानको नूरसुल्तान (अस्टाना) मा आयोजित पाटा ट्राभल मार्टको ४२ र्औ संस्करणमा “नेपाल पेभिलियन” अन्तर्गत सक्रिय तथा प्रभावकारी सहभागिता जनाउदै नेपाललाई जीवन्त अनुभवहरु प्रदान गर्ने गन्तब्यको रुपमा पवर्द्धन गरेका छन् ।

काजखस्तान पर्यटनद्वारा होस्ट गरिएको पाटा ट्राभल मार्ट २०१९ मा विश्वभरीका ६३ गन्तब्यहरुबाट कुल १२०० सहभागिहरुले सहभागिता जनाएका छन । जसमा १८० वटा संघ संस्था/कम्पनीहरु तथा ३४ वटा गन्तब्यहरुबाट कुल ३४७ विक्रेता सहभागीहरु र २४४ वटा संस्थाहरु तथा ४८ स्रोत बजारहरुबाट कुल २५२ क्रेताहरु बीच ब्यापार आदान प्रदान तथा गन्तब्य प्रवर्द्धन भेटघाट/छलफल कार्यक्रमहरु आयोजना गरिएको थियो ।

पर्यटन बोर्ड र पाटा नेपालले मार्टमा अन्तर्राष्ट्रिय एवम् स्थानीय सहभागीहरुलाई नेपालको पर्यटन प्रवर्द्धन र गन्तब्यहरुबारे जानकारी प्रदान गराएका थिए भने नीजी क्षेत्रबाट सहभागी पर्यटन व्यवसायीहरुले नेपालको प्रोडक्ट प्याकेज तथा व्यापार अवसरहरुबारे विश्वव्यापी क्रेता समक्ष छलफल भेटघाट गरेका छन् । नेपाल पेभेलियनमा, ट्रेकिङ्ग तथा साहसिक पर्यटन बाहेक नेपालको संस्कृति, वेलनेस, लक्जरी लगायत अनुभवमा आधारित पर्यटकीय प्रोडक्ट तथा सेवाहरुको बारेमा समेत सहभागीहरुले अभिरुची जनाएका थिए । मार्टमा आमन्त्रित क्रेताहरु तथा सहभागीहरु बीच आगामी वर्ष फेब्रुअरी तथा जूनमा आयोजना गरिने नेपाल ईन्डिया चाईना एक्स्पो (नाईस) र हिमालयन ट्राभल मार्ट २०२० को समेत प्रचारप्रसार एवम प्रवर्द्धन गरिएको थियो ।

सेप्टेम्बर २१ तारिखका दिन आयोजित पाटा बोर्ड डिनर तथा च्याप्टर अवार्ड प्रिजेन्टेशन समारोह विच पाटा नेपाल च्याप्टरलाई लगातार तेस्रो पटक “पाटा बेष्ट एन्गेजमेन्ट विद यङ्ग टुरिज्म प्रोफशनल” अवार्ड प्रदान गरियो । यो अवार्ड पाटाले प्रत्येक बर्ष विश्वभरी रहेका आफ्ना च्याप्टरहरुले युवा पुस्ताहरुसँगको संलग्नता तथा सहकार्यमा पर्यटन क्षेत्रको प्रवर्द्धनमा प्रदान गरेको योगदान तथा निष्ठाको उच्च मुल्याङ्कनका आधारमा उत्कृष्ट च्याप्टरको रुपमा प्रदान गर्ने गर्दछ । उक्त अवार्ड पाटा अध्यक्ष क्रिस बोट्रिल र पाटा सिईओ मारियो हार्डीले पाटा नेपाल च्याप्टरका सिइओ सुरेश सिंह बुडाललाई प्रदान गरेका थिए ।

पाटा च्याप्टर कोलोकियममा बोल्दै सुरेश सिंह बुडालले नेपाल भ्रमण बर्ष २०२०, पर्यटन प्रवर्द्धनात्मक गतिविधि तथा संस्थाले गरेका कार्यहरु एवम् भावी योजनाका बारेमा प्रस्तुत गरेका थिए । उनले लगातार तेस्रो पटक पाटा बेष्ट च्याप्टर अवार्ड पाउनु गर्वको विषय भएको र पाटा नेपाल स्टुडेन्ट च्याप्टरमा आबद्ध सम्पूर्ण विद्यार्थीहरुको निरन्तर लगाव र समर्पणको नतिजा भएको बताए । यस अभियानलाई सक्रिय र सफल बनाउन निरन्तर रुपमा सहयोग, प्रेरणा एवं हौसला प्रदान गर्ने पाटा नेपाल च्याप्टर कार्यसमिति, इण्डष्ट्री लिडर्स तथा पाटा अन्तर्राष्ट्रियमा आबद्ध व्यक्तित्वहरुलाई हार्दिक कृतज्ञता एवं धन्यबाद ब्यक्त गरेका थिए । साथै, एसिया प्यासिफिक क्षेत्रकै उत्कृष्ट ट्राभल ट्रेड शोका रुपमा स्थापित पाटा ट्राभल मार्ट बिश्वब्यापी पर्यटन सरोकारवालाहरुका लागि एक महत्वपूर्ण नेटवर्किङ्ग र बिजिनेस प्रवर्द्धन प्ल्याटफर्म भएको बुडालले बताए ।

नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रबन्धक श्रद्धा श्रेष्ठले नेपालका लागि पाटा ट्राभल मार्टको सहभागिता नेटवर्किङ्ग, व्यापार विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि सधैँ सफल र प्रभावकारी रहेका बताईन् । उनले भनिन, “नेपाल काजखस्तानीहरुको लागी नयाँ गन्तव्य रहेको र विश्वव्यपी क्रेताहरु मध्ये पनि अर्जेन्टिना, स्पेन जस्ता दक्षिण अमेरिकी मुलुकहरुबाट नेपाल भ्रमण गर्न अभिरुची भएको हामीले पायौँ ।” साथै, यस वर्षको मार्ट सेन्ट्रल एसियामा नेपाल भ्रमण वर्ष २०२०को प्रवर्धनका लागि समेत महत्वपूर्ण रहेको उनले बताईन् ।

त्यसैगरी पर्यटन बोर्डकी प्रबन्धक अर्चना केसी रानाले आमन्त्रित सहभागिहरुलाई बोर्डको सामाजिक संजालमार्फत नेपाली गन्तव्यहरुबारे अपडेट प्राप्त गर्न तथा अभिप्रेरित गराउने उद्देश्यले मार्टमा एउटा डिजिटल अभियानको समेत आयोजना गरिएको बताईन् ।

पाटा स्थापनाको ६८ वर्षको इतिहासमा आयोजित पाटा ट्राभल मार्ट यसवर्ष नयाँ गन्तव्य तथा नयाँ अनुभवहरुमा रुची राख्ने पर्यटनकर्मीहरुका लागी महत्वपूर्ण रह्यो । स्तुपा, प्रेयर फ्ल्याग र मनोरम हिमालयन दृश्यसहित नेपालको प्राकृतिक, सांस्कृतिक तथा साहसिक पर्यटनका विविध सेवा तथा बस्तुहरुले सजाइएको नेपाल पेभिलियन मार्टमा सहभागीहरुका लागि आकर्षण बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्