नागरिक समाज संस्थाका असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न



०७ असोज २०७६, काठमाडौं

काठमाडौंमा सामाजिक संघ संस्थाले गरेका असल अभ्यास आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघको आयोजनामा काठमाडौंमा क्रियाशिल नागरिक समाज संस्थाले आफुले गरेका उदाहरणीय कामको आदान प्रदान गरेका थिए ।

कार्यक्रममा बोल्दै गैर सरकारी संस्था महासंघका अध्यक्ष जितराम लामाले नागरिक समाज संस्थाले आफुले गरेका उदाहरणीय तथा राम्रा कामको प्रचार गर्न नसकेको बताउदै राम्रा अभ्यासलाई अभिलेखिकरण गरेर प्रकाशन गर्न सके नागरिक समाज संस्थालाई हेर्ने दृष्टिकोणमा परिवर्तन आउने बताए ।

त्यस्तै गैर सरकारी संस्था महासंघ काठमाडौंका अध्यक्ष प्रदिप डंगोलले नागरिक समाज संस्थाले आफुले गरेका राम्रा कामलाई एक अर्कामा आदान प्रदान गर्नाले फरक संस्थामा असल अभ्यास अनुसरण गरी नागरिक समाज संस्था सक्षम तथा सबल हुने बताए । असल अभ्यास आदान प्रदानको यो सुरुवाती कार्य भएकोले आगामि दिनमा यसलाई नियमित रुपमा राखी अन्य संस्थालाई पनि अवसर दिइने समेत बताएका थिए ।

कार्यक्रममा सोच नेपालका सचिव अर्जुन परियारले नागरिक समाजको आर्थिक अनियमितताको बारेमा धरै प्रश्न उठेको बताउदै संस्थामा आन्तरिक सुशासन कायम गर्नु अत्यन्त महत्वपुर्ण रहेको बताए । साथै संस्थाले सामाजिक काम गर्ने क्षमता विकास पनि उत्तीकै महत्वपुर्ण भएकोले क्षमता विश्लेषण गरी पैरवी क्षमता वृद्धि गर्नु आवश्यक रहेको बताउदै पैरवीका लागि विषय मिल्ने संस्थाहरु एक जुट हुन आवश्यक रहेको उनको जिकिर थियो ।

त्यस्तै चाइल्ड नेपालका सचिब तथा गैसस महासंघ काठमाडौंका उपाध्यक्ष रत्न उपे्रतीले वालवालिकाको शिक्षामा राज्य जिम्मेवार बन्न आवश्यक रहेको बताए । चाइल्ड नेपालले स्थानिय तहसंगको सहकार्यमा विद्यालय शिक्षाको सुधारका लागि काम गरेको जानकारी गराए । उनले विभिन्न स्थानीय तहमा शिक्षा नीति बनाउन सहयोग गरेको समेत बताए ।

दलित अधिकारका लागि काम गर्ने संस्था एड्वानका पम्फा परियारले दलित अधिकारका लागि शैक्षिक तथा जिविकोपार्जन कार्यक्रम जस्ता कार्यक्रम गरेको जनाए ।

सोच नेपालले संचालन गरेको पारस्पारिक जवाफदेहिता र स्थानीय अभियान अन्तर्गत नागरिक समाज संस्थाका असल अभ्यास आदान प्रदान कार्यक्रममा गैसस महासंघका केन्द्रीय अध्यक्ष सहित नागरिक समाज संस्थाका ३४ जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्