एनओसीको मुख्यालयमा सोमबारबाट ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स सुरु



०६ असोज २०७६, काठमाडौं

सुटिङ प्रशिक्षकहरुका लागि नेपाल ओलम्पिक कमिटी (एनओसी) मुख्यालयमा सोमबारबाट ओलम्पिक सोलिडारिटी टेक्निकल कोर्स सुरु भएको छ।

एनओसीको आयोजना तथा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) को सहयोगमा सुरु भएको सोलिडारिटी कोर्समा देशका सातै प्रदेशका ३० सुटिङ प्रशिक्षकहरु सहभागि छन्। विज्ञ निर्देशकहरु नर्वेका लिफ रोलान्ड र हंगेरीका सोनाल रामेन्द्रले चार दिनसम्म चल्ने कोर्समा नेपाली प्रशिक्षकहरुलाई राइफल र पिस्तोलका प्राविधिक पक्षहरु सिकाउने छन्।

कोर्समा सुटिङका प्राविधिक पक्षवारे जानकारी गराइनुका साथै नेपाली प्रशिक्षकहरुलाई खेलमा परिवर्तन भएका नीति तथा नियमहरु पनि सिकाइन्छ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सोमबार एक कार्यक्रमबीच कोर्सको उदघाटन गरे। उदघाटनको अवसरमा एनओसी अध्यक्ष श्रेष्ठले कोर्सबाट खेलको नवीनतम प्रविधि तथा नियमवारे प्रशिक्षकहरु अद्यावधिक हुने विश्‍वास व्यक्त गरे।

उदघाटनको अवसरमा नेपाल सुटिङ संघका अध्यक्ष पुश्पदास श्रेष्ठ तथा अन्य पदाधिकारीसँगै एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठलगायतका पदाधिकारीहरुको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस्