पुडासैनी मृत्यु प्रकरणः रवि लामिछाने तीन दिन चितवनमै बस्नुपर्ने



०६ असोज २०७६, काठमाडौं

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा वादी र प्रतिवादीका साक्षीको बकपत्र सुरु भएको छ।

सरकारी पक्षका १३ जनामध्ये तीन जनाको मात्र बकपत्र आइतबार सकिएको चितवन जिल्ला अदालतले जनाएको छ।

त्यसैले, आरोपित टेलिभिजन कार्यक्रम प्रस्तोता/पत्रकार रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता कार्की कम्तीमा सोमबार बेलुकीसम्म चितवनमै बस्नुपर्ने भएको छ।

बकपत्रका क्रममा सबैजना उपस्थित हुनुपर्ने भएकाले रवि‚ युवराज र अस्मिता बकपत्र सकिने समयसम्म अदालतमा उपस्थित हुनुपर्ने हुन्छ। लामिछानेसहितको टोली शनिबारदेखि चितवनमा छ।

सरकारी पक्षका जाहेरीकर्ता, अनुसन्धानकर्ता, शव परीक्षणमा संलग्न चिकित्सक एवं प्रयोगशालाका प्राविधिक गरी १३ जनाको वयान हुनेछ। यस्तै‚ प्रतिवादीको तर्फबाट २/३ जनाको नाम रहेकाले सोमबार बेलुकी वा मंगलबारसम्म बकपत्र चल्नेछ।

न्यायाधीश हेमन्त रावलको इजलासमा आइतबारदेखि बकपत्र सुरु भएको हो। लामिछानेसहित तीनजनाविरुद्ध जाहेरी दिने पत्रकार पुडासैनीकी श्रीमती सम्झनाको पनि बकपत्र लिइनेछ।

मुलुकी अपराध संहिताअनुसार आत्महत्या दुरुत्साहनको कसुर प्रमाणित भए पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्