भारतीयसँग बिहे गरेका नेपाली चेली भारतमा उम्मेदवार बन्न नपाउने



०६ असोज २०७६, काठमाडौं

नेपाल र भारतका नागरिकबीच सदियौंदेखि वैवाहिक सम्बन्ध गासिँदै आएको छ। तराई–मधेशमा यस्तो सम्बन्ध बढी रहे पनि सुदूरपश्चिम क्षेत्रका पहाडी जिल्लामा पनि यस्तो सम्बन्ध भएकाहरु प्रशस्त छन्।

हाल वैवाहिक अंगीकृत नागरिकताबारे राजनीतिक दलहरुबीच विवाद देखिएको छ। ‘रोटी बेटीको सम्बन्ध’ भन्दै कतिपयले वैवाहिक अंगीकृत नागरिकता वितरणलाई खुकुलो बनाउन दबाब दिइरहेका छन्।

तर, भारतमा भने भारतीयसँग विवाह गरेका नेपाली चेलीलाई मताधिकार तथा निर्वाचनमा उम्मेदवार हुनबाट वञ्चित गरिएको तथ्य हालै प्रकाशमा आएको छ।

भारतीय अखबार ‘हिन्दुस्तान दैनिक’ का अनुसार विवाहका आधारमा मात्र नेपाली चेलीले भारतमा हुने निर्वाचनमा उम्मेदवार हुन र मतदान गर्न नपाउने गरी निर्वाचन आयोगले फैसला गरेको छ।

उत्तराखण्डको पिथौरागढ जिल्लामा भारतीयसँग विवाह गरेकी एक नेपाली चेलीले गाउँ पञ्चालत निर्वाचनमा उम्मेदवार हुन चाहेपछि विवाद बढेको थियो। सोही विवादमा निर्वाचन आयोगले फैसला गर्दै नागरिकताबिना निर्वाचनमा भाग लिन नपाउने फैसला गरेको हो।

ती महिलाको नाम मतदाता नामावलीमा रहे पनि उनलाई मताधिकार र उम्मेदवार हुनबाट वञ्चित गरिएको हो।

निर्वाचन आयोगले भारतीय नागरिकता नभएका तथा विवाहको आधारमा मतदाता नामावलीमा सूचीकृत भएका त्यस्ता सबै महिलाको नाम सूचीबाट हटाउन पनि निर्देशन दिएको छ।

दैनिकका अनुसार नेपालबाट विवाह गरेर आएका केही महिलाले गाउँमा उम्मेदवारी दिन दाबेदारी पेश गरेका थिए। उनीहरुको नाम उत्तराखण्डको पञ्चायत मतदाता सूचीमा सामेल थियो। तर, उनीहरुले भारतीय नागरिकता पाएका छैनन्।

उत्तराखण्डको तीन जिल्लाका करिब अढाइसय किलोमिटर सीमा नेपालसँग जोडिएको छ। पिथौरागढ, चम्पावत र यूएसनगर जिल्लामा ठूलो संख्यामा नेपाली चेलीहरु विवाह गरेर गएका छन्।

देहरादूनमा पनि गोर्खाली समुदायले सदियौंदेखि नेपालसँग पारिवारिक सम्बन्ध गाँसेको उक्त अखबारले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्