काठमाडौ महानगरको नेतृत्वमा निर्मल देउला : हरेक वडामा सांगठनिक र पार्टी गतिविधि आक्रामक बनाउने उद्घोष



०६ असोज २०७६, काठमाडौं

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय निर्णयबाट  नेकपा काठमाडौं महानगर अध्यक्षको जिम्मेवारी पाएका निर्मल देउला, कामपा ८ तिलगंगामा २०२५ भदौ २३ गते बुवा पदम बहादुर देउला र आमा हिरादेवी देउलाका जेठा सन्तानको रुपमा जन्मिएका हुन् ।

सानैदेखि सामाजिक अवहेलना र जातिय विभेदका कारण कम्युनिष्ट पार्टीप्रति झुकाव राखेका उनले बि.सं. २०४४ सालमा नेपाल कम्युनिष्ट पार्टी (माले) को सम्पर्कमा रही तत्कालिन जनपक्षीय उम्मेदवारलाई जिताउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

२०४९ मा नेकपा एमालेको टोल सक्रिय दलको संयोजक रहेका उनी सोही बर्ष एमाले बाटै कामपा ८ को वडा सदस्यमा निर्वाचित बने । युवा संघ नेपालको विभिन्न जिम्मेवारीमा रहेर काम गरेका देउला सफाई मजदुर युनियन, मुक्ति समाजको काठमाडौं जिल्लाको अध्यक्षदेखि केन्द्रीय सदस्य हुँदै केन्द्रीय कोषाध्यक्ष समेत बन्न पुगे ।

२०५२ बाट नेकपा एमालेको वडा सदस्य बनेका देउलाले ९ बर्षसम्म वडा सदस्यकै रुपमा काम गरे । २०६१ देखि नेकपा एमाले काठमाडौं जिल्ला कमिटी सदस्य बन्दै जिल्ला कमिटी सचिवालय सदस्य, महानगर कमिटी सचिव हुँदै क्षेत्र नं. ४ को निर्वाचन परिचालन संयोजकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका छन् ।

देशकै राजधानी रहेको शहर काठमाडौं राजनीति र आर्थिक केन्द्रको रुपमा रहेको छ । २०७४ को स्थानीय निर्वाचनमा नगरप्रमुख सहित ३२ मध्ये १८ वडामा जित हासिल गरेको नेपाल कम्युनिष्ट पार्टीलाई अझ माथि उठाउन जिम्मेवारीसँगै चुनौती थपिएको छ ।

लोकतान्त्रिक पार्टीमा विभिन्न विचारहरु सक्रिय रहने भएपनि बैचारिक बहसलाई महाधिवेशनबाट टुङ्गो लगाउने धारणा राख्ने देउला पद्धतिसंगत ढङ्गबाट जिम्मेवारी दिने सही ब्यक्तिलाई सही जिम्मेवारी दिने धारणा राख्छन् ।

पूर्ववत एमालेको जिल्ला पार्टी कार्यालय सचिवको अनुभव सम्हालेका देउलालाई महानगरभरीका पार्टी नेताहरुको योग्यता र कार्यदक्षता बारे राम्रो जानकारी छ । उनी भन्छन्, ‘साथीहरुलाई जिम्मेवारी दिदा योग्यता, क्षमता र सिनियारिटीलाई आधार मानिन्छ ।’

महानगर नेतृत्वले विकास निर्माणमा अपेक्षित परिणाम ल्याएननी ? भन्ने प्रश्नमा देउला भन्छन्, ‘जनताको अपेक्षा अनुसार सबै काम पुरा नभएको हुनसक्छ तर यो बिचमा विकास निर्माणमा धेरै सुधार भएको छ । पार्टी एकता सकिएपछि पार्टी संगठनलाई विकास निर्माणसँग जोडेर थप व्यवस्थित र प्रभावकारी बनाईनेछ ।’

१२५ सदस्यीय महानगर कमिटीमा युवा, महिला र समावेशीकरणलाई समेत ध्यान दिने योजनामा रहेका देउला दशैं अगाडि नै महानगर नेतृत्व टुङ्गयाउने योजनामा छन् ।

आगामी चुनावी परिणाम के हुन्छ ? भन्ने प्रश्नमा देउला भन्छन्, ‘आगामी चुनावमा महानगरभित्र अहिलेको भन्दा राम्रो परिणाम ल्याईन्छ । एक्लैले भन्दा पनि सिङ्गो संगठन परिचालन गरी जितेका वडाहरु सुरक्षित बनाउँदै हारेका वडाहरु समेत जित्नेगरी सांगठनिक र पार्टी गतिविधि संचालन गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्