सी जिनफिङ विचारधारा र बिआरआईको बारेमा कार्यपत्र प्रस्तुत



०३ असोज २०७६, काठमाडौं

कालमार्क्स जन्म द्वीशतवार्षिकी समारोह समिति प्रदेश नं. ३ को आयोजनामा सी जिनफिङ विचारधारा र बिआरआई के विश्व ब्यवस्था बदलिदैछ भन्ने बिषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भूसालले कार्यपत्र प्रस्तुत गरेका छन् ।

नेकपा अगुवा तथा कार्यकर्ता सहभागी कार्यक्रममा नेता भूसालले विश्व अर्थ व्यवस्था मात्रै नभई राजनीतिक व्यवस्था बदलिदै चीनको नेतृत्वमा समानतामा आधारित ड्रिम प्रोजेक्टको रुपमा बिआरआई आईरहेको बताए ।

६८ मुलुक सहभागी हुने पक्का भईसकेको परियोजनाले विश्वको ६२ प्रतिशत जनसंख्यालाई प्रत्यक्ष प्रभाव पार्ने भूसालको दावी छ ।

बिआरआई हामी सबैको सहभागीतामा सफल हुने परियोजना रहेको बताउँदै यसबाट विश्व अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्दै सबैलाई लाभ हुने समेत उनले बताए ।

भूसालद्वारा प्रस्तुत कार्यपत्रमा आफ्नो धारणा राख्दै नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले एक सय २६ देश र २९ अन्तर्राष्ट्रिय संस्थाले बिआरआई सफल बनाउन १.५ खर्ब डलरको प्रतिबद्धता गरिसकेको बताउँदै अमेरिकी वा पश्चिमा पूँजीवादी ब्यवस्था धराशायी हुँदै बिआरआई समाजवादी ब्यवस्थाको आधार बन्न सक्ने बताए ।

तिम्रो प्रगती सहित हाम्रो पनि प्रगती र पारस्परिक हितमा आधारित बिआरआईले भौतिक समृद्धि मात्र नभई बिचार र समाजवादी चिन्तनको विस्तार समेत हुने धारणा राखे ।

पूर्व अर्थमन्त्री तथा नेकपा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कार्यपत्रमा संयुक्त राष्ट्र संघको इतिहास छुटेको, दोस्रो विश्वयुद्धपछि अमेरिकी राष्ट्रपतिले वर्ल्ड बैंक र युरोपियन युनियनले अन्तर्राष्ट्रिय मुद्रा कोषको नेतृत्व लिने सहमतिमा विश्व आर्थिक व्यवस्था नियन्त्रण गरेको बताउँदै यिनै संस्था मार्फत ८५ प्रतिशत डलरमा कारोवार हुने जानकारी गराए ।

बिआरआई पश्चिमा अर्थतन्त्रको विकल्पमा रहेको र हिजोदेखि चीनले युद्धभन्दा ब्यापारमा दक्षता हासिल गरेको इतिहास सुनाउँदै बिआरआईले चीन र उसका साझेदार राष्ट्रलाई आर्थिक समृद्धितर्फ लैजाने भएपनि चीनले सित्तैमा एक पैसा नदिने जानकारी समेत दिए ।

नेकपा स्थायी कमिटी सदस्य गणेश शाहले अहिले बहुध्रुवीय विश्व ब्यवस्थातर्फ उन्मुख रहेको विश्व ब्यवस्थामा चीनले सूचना प्रविधि, अन्वेषण र अनुसन्धानमा लगानी गरेको कारण आजको सफलता प्राप्त गरेको बताउँदै धेरै योजना भन्दा विज्ञान प्रविधिमा सहकार्य गर्नु राष्ट्रहितमा हुने धारणा राखे ।

चीनका लागि नेपाली पूर्व राजदूत तथा नेकपा केन्द्रीय सदस्य टंक कार्कीले आफ्नै अनुभव र विशिष्टिकरणमा हुर्किएको चिनियाँ क्रान्ति र अहिलेको विकासक्रम संसारका लागि उदाहरणीय रहेको बताउँदै चिनियाँहरु जीवनमुखी भएकै कारण ३० बर्षसम्म लगातार दोहोरो अंकको आर्थिक बृद्धिदरले संसारको गरिबी घटाउन योगदान दिएको बताए । त्यसैगरी बिआरआईको बिरोध गर्नुभन्दा यसको अन्तरबस्तुमा छलफल गरी बिआरआईलाई नेपालको राष्ट्रिय हित अनुकूल लागू गर्नुपर्ने बताए ।

नेकपा केन्द्रीय सदस्य तथा सिन्धुली क्षेत्र नं. १ का संघीय सांसद गणेशकुमार पहाडीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रीय सदस्य तथा संघीय सांसद राम कुमारी झाँक्रीले गरेकी थिईन् ।

 

प्रतिक्रिया दिनुहोस्