वामपन्थी आन्दोलनका योद्धा गुप्ताको निधन



०४ असोज २०७६, काठमाडौं

वामपन्थी आन्दोलनका योद्धा रघुनाथ गुप्ताको निधन भएको छ।

विसं २००७ को क्रान्तिका स्वतन्त्र सेनानीसमेत रहेका गुप्ताको ९४ वर्षको उमेरमा शुक्रबार साँझ निधन भएको हो।

विराटनगर–१५ निवासी गुप्ता मिर्गौला रोग र मधुमेह रोगबाट पीडित थिए। स्व. मनमोहन अधिकारीको नेतृत्वमा वामपन्थी आन्दोलनमा सक्रिय रुपमा लागेका उनले ऐतिहासिक जुटमिल हड्तालमा सक्रिय भूमिका निभाएका थिए।

विसं १९८२ भारतको कोलकत्तामा जन्मिएका गुप्ताको २००७ सालको क्रान्तिमा ठूलो भूमिका रहेको थियो।

उनको पार्थिव शरीरमा शनिबार प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रिय झण्डा ओढाई हार्दिक श्रद्धाञ्जलि अर्पण गरे। यसैगरी सामाजिक विकासमन्त्री जीवन घिमिरे, नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइराला, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्यद्वय विनोद ढकाल, महेश रेग्मीलगायतले पुष्पगुच्छाद्वारा श्रद्धाञ्जलि अर्पण गरे।

उनको आज हिन्दू परम्पराअनुसार दाहसंस्कार गरिने परिवारले जनाएको छ। उनका श्रीमती, तीन छोरा र एक छोरी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्