वर्तमान संविधान र मदन भण्डारी विचार गोष्ठी सम्पन्न (फोटो फिचर)



०२ असोज २०७६, काठमाडौं

मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित वर्तमान संविधान र मदन भण्डारी विचार गोष्ठी काठमाडौंको बबरमहलमा सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन हुने बताएका छन् । संविधान कार्यान्वयनका केही चुनौती रहेकाले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने बताए ।

उनले संविधानमा उल्लेख गरिएका केही कुरा कार्यान्वयन गराउन चुनौती रहेकाले त्यस्ता चुनौतीको बारेमा ध्यान जान जरुरी रहेको धारणा राखेका थिए । “मौलिक हक रहेको स्वास्थ्य र शिक्षामा सबैको सहज पहुँच पुर्याउन समस्या रहेको छ । गरीबी निवारणका बारेमा अहिलेकै प्रणालीबाट ठोस र परिमाण दिन सक्न पनि चुनौती रहेको छ”, उनले भने, “चुनौतीलाई समाधान गर्न संविधान संशोधन आवश्यक रहेको छ ।” पोखरेलले अहिलेको न्यायप्रणालीबाट आम नागरिकले न्याय प्राप्त गरेको अनुभव पाउनुपर्ने भए तापनि त्यसो हुन नसकेको बताएका छन् ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवलीले नेपालको संविधान २०७२ ले हामी सबैलाई समेटेको बताउँदै उनले भने, सानामा सिलाएको भोटोले नानी बढ्दै जादा पुग्दैन भन्दै हाम्रो संविधान आवश्यक परेको खण्डमा नियम भित्र रहेर संसोधन गर्न सकिने बताए । परराष्ट्रमन्त्री ज्ञवलीले अहिलेको संविधानले संविधान मान्दिन भन्नेलाई मात्र नभएर देश नै मान्दिन भन्नेलाई समेत बाधेको प्रष्ट पारे ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले यो संविधानलाई कसरी सफल पार्न सकिन्छ यसलाई लागु गर्न सके जवजको स्थापित हुने बताउँदै संविधान कार्यान्वयन गर्न सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस्