
०२ असोज २०७६, काठमाडौं।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट ओ ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गरेका छन्।
राष्ट्रपति ट्रम्पले ट्वीट गरेर यसको स्पष्टोक्ति दिएका छन्। विदेश विभागको प्रतिनिधिको रुपमा काम गर्दै आएका ब्रायनलाई राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गर्न पाउँदा आफूलाई खुसी लागेको ट्रम्पले बताएका छन्।
ब्रायनसँग अघिल्ला राष्ट्रपतिहरु जर्ज डब्लु बुश र बराक ओबामासँग पनि काम गरेको अनुभव छ। यसअघिका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले गत हप्ता राजीनामा दिएका थिए।
ट्रम्पले राजीनामा दिन भनेकाले नै उनले पद त्यागेको बताइएको छ। यद्यपि बोल्टनले भने यसबारे केही बताएका छैनन् । रोबर्ट ब्रायन राष्ट्रपति ट्रम्पको यो कार्यकालमा काम गर्ने चौथो राष्ट्रिय सुरक्षा सल्लाहकार हुन्।
ब्रायनअघि माइकल फ्लिन, एच आर म्याकमास्टर र जोन बोल्टनले राष्ट्रिय सुरक्षा सल्लाहकार भएर ट्रम्पसँग काम गरिसकेका छन्।





