डा. राजन भट्टराईद्वारा बालउद्धार माविको नवनिर्मित भवन समुद्घाटन तथा सम्मान



३१ भदौ २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. १० स्थित बाल उद्धार माविको नवनिर्मित चार कोठे भवन प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले समुद्घाटन गरेका छन् ।

कार्यक्रममा डा. भट्टराईले भौतिक पूर्वाधार र विद्यार्थी संख्यामा उत्कृष्ट सामुदायिक विद्यालय बाल उद्धारले अबका दिनमा गुणस्तरीय शिक्षा र उत्कृष्ट नतिजा ल्याउनेमा ध्यान दिनुपर्ने बताए ।

सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा उपलब्ध गराउन बूढानीलकण्ठ नगरपालिका आफैंले सहयोग गरिरहेको बताउँदै आवश्यक सहयोगको लागि प्रदेश सरकार र संघीय सरकारबाट आफूले पहल गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले बाल उद्धारले पछिल्लो समय शिक्षाको गुणस्तर बृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै गएको भएपनि हामीले पहिले पढेका विद्यालयहरुमा हामीले हाम्रा छोराछोरी पढाउन नसक्ने वातावरण तर्फ चिन्ता ब्यक्त गरे ।

बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले काठमाडौं क्षेत्र नं. ४ बाट विजयी हुन नसकेपनि यस क्षेत्रको विकासको लागि डा. भट्टराईको पहरेदारी प्रशंसनीय रहेको बताउँदै विद्यालयले गुणस्तरीय शिक्षातर्फ अर्जुन दृष्टि लाउनुपर्ने बताए ।

नेपाल सरकारको राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गत शिक्षा शाखाको जिल्ला आयोजना कार्यान्वयन इकाईको रु.६९,९९,७७१।– लागतमा विद्यालय व्यवस्थापन समितिले भवन निर्माण गरेको हो ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक बिनोद पण्डितले विद्यालयको भौतिक पूर्वाधार विकासमा स्थानीय सरकार र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईप्रति आभार ब्यक्त गर्दै आगामी पाँच बर्षभित्र बालउद्धारलाई देशकै उत्कृष्ट विद्यालय बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे ।

कार्यक्रममा यो बर्षको सर्वाेत्कृष्ट शिक्षकको रुपमा राजन रेग्मी, एसईई परीक्षामा नगरपालिकाभरीका सामाजिक शिक्षामा सर्वाेत्कृष्ट नतिजा ल्याउन सुशीला ढकाललाई विशेष सम्मान गरिएको थियो भने विद्यालयमा २५ बर्ष अध्यापन गराउने शिक्षकशिक्षिकालाई समेत सम्मान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद बजगाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन राजन रेग्मीले गरेका थिए भने कार्यक्रममा जिल्ला समन्वय इकाई समिति प्रमुख अर्जुनबहादुर रायमाझी, बूढानीलकण्ठ नगरपालिकाका सल्लाहकार सुन्दर पुर्कुटी, वडाध्यक्षहरु राजु अधिकारी, शम्भुप्रसाद भट्टराई, स्थानीय समाजसेवीहरु कुमारप्रसाद ओझा, मिठाराम अधिकारी, डम्बर अधिकारी, ठाकुरप्रसाद खकुरेल, ध्रुव भट्टराई, जगत निरौला, हेमा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए भने प्रमुख अतिथि डा. भट्टराईलाई विद्यालयको तर्फबाट प्र.अ. बिनोद पण्डितले मायाको चिनो समेत हस्तान्तरण गरेका थिए ।

          

प्रतिक्रिया दिनुहोस्