प्रतिनिधिसभा बैठकमा कांग्रेसको नाराबाजी



३० भदौ २०७६, काठमाडौं

सोमबारको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका छन्।

बैठकमा सत्ता पक्षका सांसद नन्दलाल रोका क्षेत्रीले बाँकेको सीतापुर घटनामा वडा अध्यक्षलाई मुद्धा लगाउने कुरा स्वीकार गर्न नसकिने भन्दै ‘नेपाली कांग्रेसले आन्दोलन गर्छ भने हामी पनि आन्दोलन गर्छौँ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली कांग्रेसका सांसदहरुले आपत्ति जनाउँदै आ–आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए।

सांसद रोका क्षेत्रीको भनाइको प्रतिवादमा कांग्रेसका सांसदहरुले बोल्न समय माग्दा सभामुखले नदिएपछि सांसदहरुले वेल घेराउ गरेर नाराबाजी गरेका हुन्।

गत २६ भदौमा बाँकेको खजुरा गाउँपालिका वडा नं १ मा रहेको सीतापुरमा नेपाली कांग्रेसले गरेको राष्ट्रिय जागरण अभियानमा सत्तारुढ दलका कार्यकर्ताले अंरिगाल जसरी प्रवेश गरेर कार्यक्रम बिथोल्नुका साथै जिल्ला सभापति किरण कोइराला र केन्द्रीय प्रतिनिधिमाथि आक्रमण गरेको कांग्रेसको आरोप छ।

प्रतिक्रिया दिनुहोस्