बाल दिवस–२०७६ को अवसरमा टोखा नगरपालिकाको भब्य कार्यक्रम (फोटो फिचर)



२९ भदौ २०७६, काठमाडौं

राष्ट्रिय बाल दिवस २०७६ को अवसरमा टोखा नगरपालिकाले जनप्रतिनिधिसँग बालबालिकाहरुको अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफूले नेतृत्व सम्हालेपछि टोखा नगरपालिका भित्रका बालबालिकाहरुको लागि विभिन्न कार्यक्रम आयोजना गरेको जनाउँदै बालबालिकाहरुकै सल्लाह सुझाव अनुसार नगरपालिका अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।

उपप्रमुख तथा कार्यक्रमको सभाध्यक्ष ज्ञानमाया डंगोलले नगरपालिकाले ४५ विद्यालयमा बाल क्लब गठन गरिसकेको र ८ वटा वडामा बाल संजाल पुर्नगठन भईसकेको जानकारी दिईन् ।

आफू निर्वाचित भएपछि किशोरीहरुलाई आत्मरक्षा तालिम, सबै विद्यार्थीहरुलाई जीवनोपयोगी तालिम, उद्घोषण तालिम प्रदान गरेको बताउँदै बाल अधिकारकर्मीहरुले माग गरे बमोजिम सबै सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पोषणयुक्त खाजा र छात्राहरुलाई सेनेटरी प्याडको ब्यवस्था तत्काल नगरपालिकाले गर्ने जानकारी दिईन् ।

एक वडा एक पार्कको अवधारणा बालबालिका लक्षित भएकोले बालमैत्री नगरपालिका घोषणा गर्ने आधार तयार गर्न यही बर्षदेखि बालमैत्री वडा घोषणा गर्दै अगाडि बढ्ने जानकारी दिईन् ।

कार्यक्रममा नगरस्तरीय बाल क्लब संजालकी सदस्य बबिता परियारले टोखा नगरपालिकाका बालबालिकाहरुको लागि जनप्रतिनिधि आएपछि धेरै राम्रो सहयोग गरेको अनुभव समेत सुनाईन् ।

त्यसैगरी प्रियान्स ठाकुरले अहिलेका विद्यार्थीहरुको सपना चाही शिखर छुने हुने तर संस्कृति बिर्सिएको अनुभव सुनाउँदै सामाजिक संजालको दुरुपयोग स्वरुप केटीहरु ‘टिकटक’ र केटाहरु ‘पबजी’ मा भुलिएको अनुभव सुनाए ।

टोखा वडा नं. ५ बाल क्लबकी अध्यक्ष ईशा गुरुङले हामी विद्यार्थीहरुमा अनुशासनहिनता, आदर सत्कार गर्ने बानी भुल्दै गएको बताउँदै त्यसलाई सुधार्न आफैं बदलिनुपर्ने धारणा राखिन् । विद्यालयको ट्वाईलेटको कुनाकुनामा डस्टबिन नभएको कारण किशोरीहरुका प्याडहरुले दुर्गन्ध बनाएको बताउँदै विद्यालयको ट्वाइलेटहरुमा डस्टबिनको व्यवस्था गर्न माग गरिन् ।

टोखा ७ की स्वस्तिका श्रेष्ठले बिद्यार्थीहरुले अधिकारको कुरा गरेर कर्तव्य भूलिरहेको बताउँदै नगरपालिकामा ब्यवस्थित सार्वजनिक पुस्तकालय स्थापना गर्न माग गरिन् ।

टोखा १ की श्रेया अधिकारीले बालबालिकाको क्षेत्रमा छुट्याएको बजेट बालबालिकाकै क्षेत्रमा लगानी गर्न अनुरोध गर्दै बालबालिकालाई क्षमता विकास तालिम दिन माग गरिन् ।

टोखा २ का सन्देश रसाईलीले वडा नं. १ देखि माथिको रोड असार १५ मा रोपाई गर्न ठिक भएको जस्तो बताउँदै तत्काल निर्माण गर्न माग गरिन् ।

टोखा ३ का पर्शुराम अधिकारीले बालक्लब बनाएपछि बालबालिकाहरुले त्यसबारे नबुझेर क्लबहरु गतिशिल नभएको गुनासो गरे । नगरपालिकाले सार्वजनिक शौचालय र अभिभावकहरुलाई तालिम दिनुपर्ने पनि उनको माग थियो ।

वडा नं. ४ का विशाल पण्डितले संचार माध्यमले बालबालिकाका मुद्दाहरुमा प्रकाशन/प्रशारण गरी सचेतना फैलाउनुपर्ने माग गरे । स्कूलमा अहिलेपनि बालबालिकाहरुलाई भौतिक यातना दिने काम भईरहेको बताउँदै त्यसलाई रोक्न माग गरे ।

वडा नं. ५ का अबिरल नेपालले नगरले छुट्याएको बालबालिकाको बजेट कागजमा मात्र सिमित भएको बताउँदै त्यसलाई कार्यान्वयन गर्न माग गरे ।

वडा नं. ९ की समिक्षा महर्जनले विद्यालयको छेउछाउमा संचालित होटलहरुमा मादक पदार्थ पिएर लागूपदार्थ सेवन गरेर विद्यालयबाट घर फर्कने बालबालिकालाई दुर्व्यबहार भईरहेको बताउँदै त्यसलाई समाधान गर्न अनुरोध गरिन् ।

वडा नं. १० की प्रबिधि खनालले विद्यालयमा खानेकुरा र सेनेटरी प्याडको आवश्यकता रहेको बताउँदै त्यसलाई ब्यवस्था गरिदिन माग गरिन् । वडाको सिफारिसमा दिईने छात्रवृत्ति पनि गरिबलाई होइन आफ्नो मान्छेलाई दिएको बताउँदै तत्काल त्यसलाई रोक्नुपर्ने माग गरिन् । उनले समाजमा किशोरीहरु सुरक्षित नभएको बताउँदै बाटोको ठाउँठाउँमा डस्टबिनको व्यवस्था गर्न माग गरिन् ।

वडा नं. १० की सरस्वती तामाङले विद्यालयमा क्यान्टिनको व्यवस्था नभएको गुनासो गर्दै छात्रवृत्ति जान्नेलाई मात्र होइन जान्न चाहनेहरुको लागि पनि वितरण गर्न माग गरिन् ।

वडा नं. १० कै अन्जन थापा मगरले विद्यालयमा खेलकुदको वातावरण नभएकोले त्यसतर्फ सोच्न अनुरोध गरे ।

वडा नं. ११ का सुजल पाण्डेले नगरस्तरीय बाल क्लबको कार्यालय र लेटर प्याड व्यवस्था गर्न माग गर्दै टोखा देखि माथिको बाटो तत्काल पिच गर्न माग गरे ।

वडा नं. ७ की फुलम्बु शेर्पाले गरिब र धनी परिवारबाट आएका साथीहरुमा विभेदको व्यवहार भएको बताउँदै त्यसलाई कम गर्न कार्यक्रम संचालन गर्नुपर्ने बताईन् ।

कार्यक्रममा विद्यार्थीहरु सुनिता श्रेष्ठ, सीता सुवेदी र शिक्षक प्रतिनिधि टंक चापागाई शिक्षा शाखा प्रमुख बाबुराम गौतमले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नगरस्तरीय चित्रकला प्रतियोगितामा प्रथम हुने श्याम मुडवरीलाई तीन हजार नगदसहित शिल्ड र प्रमाणपत्र, द्वितीय हुने आनन्द पण्डितलाई पच्चिस सय नगद सहित शिल्ड र प्रमाणपत्र, तृतीय हुने प्रिन्स शाहलाई दुई हजार नगद र प्रमाण पत्र, सान्त्वना हुने सिम्रन राईलाई पन्ध्र सय नगद सहित शिल्ड र प्रमाण पत्र वितरण गरिएको थियो ।

यसैगरी कक्षा ६ देखि ८ सम्मको बक्तृत्वकलामा प्रथम हुने सुमन तामाङ, द्वितीय हुने दिया श्रेष्ठ, तृतीय हुने अनिशा भट्टराई र सान्तवना हुने श्रेया अधिकारीलाई प्रमाणपत्र र शिल्ड वितरण गरिएको थियो ।

कक्षा ९ देखि १२ को ‘म टोखा नगरको मेयर भए भने’ भन्ने विषयक बक्तृत्वकला कार्यक्रममा प्रथम हुने प्रियान्स ठाकुर, द्वितीय हुने प्रतिमा तामाङ, तृतीय हुने फु ल्हमु शेर्पालाई सम्मान पत्र र शिल्ड प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर कार्यपालिका सदस्य कल्पना घिमिरेले शहिदको विषयमा लेखन र बाचन गरेको कबिताले सबैलाई भावुक बनाएको थियो । कार्यक्रममा अधिकारकर्मी बिना शर्माले राष्ट्रिय बाल दिवसको सन्दर्भमा बालबालिकाको अवस्था बिषयक कार्यपत्र समेत प्रस्तुत गरेकी थिईन् ।

       

प्रतिक्रिया दिनुहोस्