काङ्ग्रेस जागरण अभियानमा, भ्रातृ संस्था भने आन्तरिक कलहमा



२९ भदौ २०७६, काठमाडौं

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भ्रातृ संस्थाहरुमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई विज्ञप्तिमार्फत दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि सङ्गठन भित्रको विवाद छताछुल्ल देखिएको हो ।

अध्यक्ष जीतजङ्ग बस्नेतले विज्ञप्तिमार्फत पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाउनुभएको थियो । लगत्तै महासचिव शाहीले पनि अर्काे विज्ञप्ति जारी गर्दै तरुण दललाई अलोकतान्त्रिक ढङ्गबाट सञ्चालन गरेको र मुलुकका ठूला भ्रष्टाचार काण्डविरुद्ध नजरअन्दाज गरेको भन्दै अध्यक्ष बस्नेतलाई हटाएको घोषणा गर्नुभएको थियो ।

मातृ पार्टी काङ्ग्रेस ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा देशभर जुटिरहेका बेला प्रभावशाली भ्रातृ संस्था तरुण दल भने विवादको भुमरीमा फसेको छ । काङ्ग्रेसले यही भदौ २४ देखि आगामी असोज ७ गतेसम्म देशभर जागरण अभियान थालेको छ ।

तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । पन्चानब्बे सदस्यीय केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन ।

विसं २०१० कात्तिक १० गते तत्कालीन काङ्ग्रेस सभापति विश्वेश्वरप्रसाद कोइरालाको समन्वय र निर्देशनमा तरुण दल स्थापना भएको हो । तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का रहनुभएको थियो । त्यसपछि २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री विपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए ।

राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । विसं २०५४ मा नेपालगन्जमा भएको काङ्ग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गर्नुभएको थियो । त्यसपछि हालसम्म तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्