सेभेन ए साईड फुटबलको उपाधी रिकोभरीले हात पार्यो



२८ भदौ २०७६, काठमाडौं

समर्पण समाज नेपालको आयोजनामा भएको सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधी सोवर रिकोभरीले हात पार्न सफल भएको छ ।

कपन ह्याण्डबल चौरमा भएको समापन खेलमा ६/१ ले प्रिन्सिपल अफ लाईफलाई पराजित गर्दै सोवर रिकोभरीले खेल जितेको हो ।

विजेता सोवर रिकोभरीले नगद रु ४० हजार, ट्रफी, मेडल र सर्टिफिकेट र द्वितिय हुने प्रिन्सिपल अफ लाईफले नगद रु १० हजार सहित ट्रफी, मेडल र सर्टिफिकेट प्राप्त गरेको थियो ।

भदौ २० गतेबाट शुरु भएको फुटबल आज २८ गते समापन भएको खेलमा काठमाडौं भित्रका ९ वटा टिमको सहभागीता रहेको आयोजक कर्ण लामाले परिवर्तन खबरलाई बताए ।

फुटबल प्रतियोगितामा प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिका वडा नं १२ का वडाध्यक्ष शम्भु प्रसाद भट्टराई, विषेश अतिथि नेकपा जिल्ला कमिटी सदस्य मिठाराम अधिकारी, काठमाडौं जिल्ला खेलकुद समितिका उपाध्यक्ष बद्री भट्टराई, कपन प्रहरी प्रभागका प्रमुख प्रहरी निरीक्षक सुरक्षा केसी, युवा नेता तथा समाजसेवी कर्ण लामा लगायत खेलकुदप्रेमिहरुको उपस्थिती रहेको थियो ।

सभापति टासी लामाको सभापतित्वमा भएको कार्यक्रमको संचालन कोमल सिग्देलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्