‘कश्मीरमा भारतको कारण अतिवाद सिर्जना हुन्छ’



२८ भदौ २०७६, काठमाडौं

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले उसको नियन्त्रणमा रहेको जम्मू–कश्मीरमा गरेको कार्यले अतिवाद सिर्जना हुने बताएका छन्।

पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फरवादमा शुक्रबार खानले भारतीय हेपाइले कश्मीरका जनता उत्पीडनमा परेकाले त्यहाँ अतिवाद सिर्जना हुने बताएका हुन्।

उनले भारतीय कश्मीरको जनताका लागि आफूले अप्रत्यासित काम गर्ने पनि बताएका छन्। उनका अनुसार अहिलेसम्म त्यस्तो काम कसैले गरेका छैनन्।

५ अगष्टमा जम्मू–कश्मीर विशेषाधिकार भारत सरकारले खोसेपछि त्यहाँ तनाव बढ्दै छ। धेरै इलाकामा धारा १ सय ४४ लागू भएको छ। जसका कारण त्यहाँ मोबाइल, इन्टरनेटको सेवा बन्द गरिएको छ।

सन् १९४७ को स्वतन्त्रतापछि भारतबाट पाकिस्तान अलग भएको थियो। त्यसयता देखि नै दुवै देशबीच कस्मिरको विषयलाई लिएर विवाद हुँदै आएको छ।

पाकिस्तानका अनुसार संयुक्त राष्ट्रसंघको प्रस्ताव र कश्मीरी जनताको इच्छाअनुसार कश्मीरको अन्तिम फैसला हुनुपर्छ।

तर भारतले कश्मीर आफ्नो अभिन्न अंग भएको बताउँदै पाकिस्तान प्रशासित कश्मीर पनि आफ्नो भएको दावी गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्