डा. भट्टराईद्वारा निवन्ध लेखन तथा वाककलाका विजयी प्रतिस्पर्धीहरु सम्मानित (फोटो फिचर)



२६ भदौ २०७६, काठमाडौं

काठमाडौं खेलकुद समाजद्वारा आयोजित सुरक्षामा महिलाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आफ्ना बाल बच्चाहरुलाई सानैदेखि आफ्नो काम आफैं गर्न आमावुवाले प्रेरित गर्नुपर्ने बताएका छन् ।

उनले कार्यक्रमका सहभागीहरु माझ परिवारमा सानैदेखि छोरीलाई खाना पकाउने, लुगा धुने, भाडा माझ्ने, आफ्नो लुगा आइरन गर्ने सीप सिक्न र सिकाउन प्रेरित गरेपनि छोरालाई त्यसो नगराउँदा छोराहरु आफूले मन लागेको खानेकुरा पकाएर खान नसक्ने अवस्था समाजमा बढ्दै गएको भन्दै आफू विदेश जाँदा पनि कतिपय समयमा आइरन गरेका लुगा मिलाएर पट्याएर राख्न नजान्दाको अनुभव सुनाएका थिए । सुन्दा सामान्य लाग्ने यी कुराहरु आत्मनिर्भर बन्न महत्वपूर्ण रहेकोले सबै अभिभावकले त्यसतर्फ ध्यान दिनुपर्ने समेत बताए ।

साथै डा. भट्टराईले देशभरिका संस्थागत विद्यालयहरुमध्ये सर्वाेत्कृष्ट हुन सफल रिलायन्स ईन्टरनेशनल स्कूललाई बधाई दिदै आगामी दिनमा आफ्नो साखलाई निरन्तरता दिन शुभकामना समेत दिएका थिए ।

कार्यक्रममा सामाजिक सुरक्षामा महिलाको भूमिका विषयक वाक कला प्रतियोगितामा प्रथम हुने सुशीला बस्नेत भण्डारीलाई पाँच हजार नगद सहित प्रमाण पत्र, द्वितीय हुने पवित्रा पोखरेललाई पच्चीस सय सहित प्रमाण पत्र र तृतीय हुने रिता काफ्ले दाहाललाई पन्ध्र सय रुपैयाँ सहित प्रमुख अतिथि डा. भट्टराईले सम्मान गरेका थिए ।

त्यसैगरी नागरिक र प्रहरी सम्बन्ध विषयक निबन्ध लेखन प्रतियोगिता तर्फ प्रथम अस्मिता तिमल्सिना, रिलाइन्स पब्लिक स्कूल, द्वितीय सदिश थापा र  तृतीय पुजन मिश्र, शारदा स्कूल लगायत सहभागी विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।

काठमाडौं खेलकुद समाजका अध्यक्ष दामोदर भट्टराई (बद्री) को अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरीय प्रहरी बृत्त, बौद्ध रमेश बहादुर सिंह, कपन प्रहरी प्रभाग प्रमुख सुरक्षा केसी, बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई, महिला अधिकारकर्मीहरु, विभिन्न विद्यालयका बालबालिकाहरु, शिक्षकशिक्षिकाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्