ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई बर्खास्त गरे



२५ भदौ २०७६, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मंगलबार पदबाट बर्खास्त गरेका छन्।

अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु सङ्कटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइट हाउसको ठम्याइँ थियो।

बोल्टनका नीतिसँग आफू असहमत रहेको विचार राख्दै राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, ‘मैले जोनलाई राजीनामा दिन भनेको थिएँ, उहाँले आजै बिहान राजीनामा बुझाउनुभयो।’

बोल्टनको राजीनामासँगैं ट्रम्पले तीन वर्षको अवधिमै राष्ट्रिय सुरक्षा सल्लाहकार तेस्रो पटक फेरबदल गरेका छन्। राष्ट्रपति ट्रम्पले अर्को साता नयाँ सल्लाहकार नियुक्त गरिने जानकारी दिएका छन्।

पदबाट बर्खास्त हुनुअघि सल्लाहकार बोल्टनले अर्कै प्रसंगमा ह्वाइट हाउसमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम थियो। राष्ट्रपतिबाट पदच्यूत भएपछि उनले आफूलाई ट्रम्पले बर्खास्त नगरेको बरु आफैंले राजीनामा दिएको दावी गरेका छन्।

बोल्टनलाई अमेरिकी राजनीतिक मामिलामा सधैं विवादास्पद व्यक्ति मानिन्छ। इराकमा आक्रमणका मुख्य योजनाकार मानिने बोल्टनलाई अमेरिकी विदेश मामिला परिचालनमा निकै कठोर व्यक्तिका रुपमा लिइन्छ।

पछिल्ला दिनहरुमा ह्वाइट हाउसले इरान, उत्तर कोरिया, भेनेजुएला समेतका मामिलामा लिएको कडा रबैयाका मुख्य सुत्रधार बोल्टन रहेको विश्वास गरिन्छ।

बोल्टनले यसअघि संयुक्तराष्ट्र संघका लागि अमेरिकी राजदूतको भूमिका समेत निर्वाह गरेका थिए। उनले अफगानिस्तानका विद्रोही शक्ति तालिबान र उत्तर कोरियाली नेता किम जोङ उनसँग भइरहेका वार्तामा कुनै समर्थन गरेका थिएनन्।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बोल्टनको बहिर्गमनको अर्थ अमेरिकाको रणनीति पूरै परिवर्तन भएको ठान्न नहुने बताएका छन्। उनले पत्रकारहरुसँग वासिङ्टनमा भने, ‘हामीबीचको कोही सदस्य बाहिरिनासाथ अमेरिकी नीतिमा परिवर्तन हुँदैन, र त्यसमा सत्यता छैन।’

प्रतिक्रिया दिनुहोस्