‘राष्ट्रिय गान बज्दा नउठ्ने मानिस नेपाली होइन’



२५ भदौ २०७६, काठमाडौं

नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपालको राष्ट्रिय गान बज्दा सम्मानमा नउठ्ने मानिस नेपाली हुन नसक्ने बताएका छन्।

नेपाल चलचित्र कलाकार संघको ३२औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले संचारमाध्यमले राष्ट्रिय गानलाई लिएर भ्रम फैलाएको पनि बताएका छन्।

‘केही भ्रमको सिर्जना गर्ने संचार माध्यमले चलचित्र हलमा राष्ट्रिय गान बजाउन नपर्ने, बजेमा उठ्न नपर्ने सन्देश प्रवाह गरेका छन्। मिडियाले नकारात्मक सन्देश प्रवाह गर्नु राम्रो होइन, नेपालको राष्ट्र गान बज्दा नउठ्ने मानिस नेपाली हुनै सक्तैन।’ उनले भने।

फिल्म हलहरूमा चलचित्र सुरु हुनु पूर्व नेपालको राष्ट्रिय गान बजाउनुपर्ने सरकारको प्रस्ताव छ। उक्त प्रस्ताव पारित भएकोमा केही व्यक्ति र संचारमाध्यमले विरोध गरेपछि मन्त्री बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो।

त्यस्तै मन्त्री बाँस्कोटाले चलचित्र क्षेत्र संरक्षण र व्यवस्थित गर्ने गरी चलचित्र ऐन चाँडो ल्याइने बताएका छन्।

अहिले चलचित्रले नेपाली मौलिकता तथा संस्कृतिलाई जगेर्ना गर्न नसकेका कारण दर्शकलाई आकर्षित गर्न नसकेको अवस्थामा विविधताभित्र एकता र राष्ट्रियतालाई बलियो बनाउने विषयलाई प्राथमिकतामा राखेर ऐन ल्याइने उनले बताए।

प्रतिक्रिया दिनुहोस्