पशुपति क्षेत्र विकास कोषको असहमतिले ३ शताब्दी पुरानो शाक्यहरुले नाच्ने नागिंचा प्याखं (महादेव–पार्वती नाच) रोकियो



२५ भदौ २०७६, काठमाडौं

पशुपति क्षेत्र विकास कोष र पशुपति क्षेत्रका बासिन्दाबीचको असहमतिले दुई शताब्दी पुरानो शाक्यहरुले नाच्ने महादेव–पार्वती नाच विगत केही वर्षदेखि रोकिएको छ । स्थानीयवासीले कोषसँग मागेजति बजेट नपाएपछि नाचै रोकिने अवस्था बनेको हो ।

चारुमती विहार गुठीका सदस्य एवं कोषका पूर्वसदस्य सचिव परमानन्द शाक्यले तीन महिनादेखि नाचका लागि नर्तक र वाद्यवादकका निम्ति बजेट छुट्याउन कोषलाई पत्र पठाए पनि पर्याप्त रकम नआएको गुनासो गरे । ’गुठीले कोषसँग ५ लाख रुपैयाँ माग गरेको थियो,’ उनले भने,’थोरै बजेटले नाचका लागि आवश्यक जनशक्ति जुटाउन सकिन्न ।’

उक्त नाच औपचारिक रूपमा इन्द्रजात्राको दिन सुरु हुने हो । जयबागेश्वरीस्थित पशुपति अमालकोट कचरी (कार्यालय) ले परम्पराअनुसार भेडाको बलि दिई नाथेश्वर पूजापश्चात चारुमती विहारका गुठियारहरूलाई प्रसाद र टीका दिने चलन छ । तर दुई संस्थाबीच बजेटमा कुरा नमिल्दा नाच शुरु भएन ।

चार दिनसम्म चल्ने नाच बेलुकीपख पशुपति क्षेत्रका विभिन्न चोकहरूमा देखाउने चलन रहेको छ । जयबागेश्वरी मन्दिरस्थित नासल चोकबाट सुरु भई पशुपति बासुकी पट्ट चोक, पशुपति मन्दिर प्रांगण, भुवनेश्वरी मन्दिर प्रांगण, पशुपति अमालकोट कचरी चोक, जयबागेश्वरी मन्दिर प्रांगणमा नचाई वैद्य चोकमा पुगी सम्पन्न हुनुपर्ने हो । दोस्रो दिन पशुपति मन्दिरका मुख्य चार पुजारीको निवासको प्रांगण, राम मन्दिर, गोरखनाथ, गुह्येश्वरी र जयबागेश्वरी, नवाली टोल र अन्त्यमा पुनः चोकमा पुग्ने परम्परा छ । तेस्रो दिन चावहिल बहाल र चावहिलस्थित गणेश मन्दिर प्रांगणमा नाच देखाइन्छ । नाचमा पञ्चे, धा, खि, नायखी, पश्चिमा बाजाहरू बजाइन्छ ।

पशुपति अमालकोट कचरी (कार्यालय) का द्वारे (मुख्य व्यक्ति) पूर्ण डंगोलले कोषले ऐतिहासिक नाच लोप हुन नदिन केही कदम चाल्नुपर्ने बताए । नाच रोकिए पनि सम्बन्धित निकाय पशुपती क्षेत्र बिकास कोषलाई मतलब छैन । यसले सम्बन्धित निकायका व्यक्तिलाई केही भएमा मन्दिर जिम्मेवारी हुने छैन–उनले भने ।

२०५७ सम्म पशुपति क्षेत्रअन्तर्गत सञ्चालन हुने सम्पूर्ण जात्रापर्वका लागि आवश्यक खर्च अमालकोट कचरीले बेहोदै आएको थियो । २०५८ देखि कचरी, पशुपति भण्डार तहबिल र जयबागेश्वरी भण्डार तीनै कार्यालय कोषले स्वामित्व लिएदेखि जात्रापर्व सञ्चालनमा समस्या हुँदै आएको स्थानीय बताउँछन् । उनीहरू भन्छन्,’नाचका लागि ४ जना नर्तक बालक, १०/१२ जना वाद्यवादक र ५/६ जना गीत गाउने आवश्यक पर्छ ।’

यो पनि पढ्नुहोस् :

गुह्येश्वरीको बेथिति : विश्व सम्पदा सूचीको बेहाल, सरोकारवाला मौन (फोटो फिचर)

पशुपति क्षेत्र विकास कोषलाई नेपाल कर्मचारी युनियनको पन्ध्र दिने अल्टिमेटम

पशुपति क्षेत्रको जिफन्ट आन्दोलनमा डा. राजन भट्टराईको चासो

पशुपति क्षेत्र जिफन्टको मागपछि पशुपतिको पूर्वी ढोका खोलियो

जयबागेश्वरी जिर्णाेद्धारको क्रममा पुरातात्विक मन्दिर भेटियो

पशुपति क्षेत्रको पार्किङ्ग शुल्कमा अनियमितता : सम्झौता एउटा, शुल्क अर्काे

 

प्रतिक्रिया दिनुहोस्