नेपालद्वारा ताजकिस्तान पराजित



२४ भदौ २०७६, काठमाडौं

किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपालले ताजकिस्तानलाई पराजित गर्दै प्रतियोगिताको उपाधि नजिक पुगेको छ ।

किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले ताजकिस्तानलाई १–० गोलअन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

नेपालको जितमा सावित्रा भण्डारीले गोल गरिन् । उनले खेलको ८६ औँ मिनेटमा गरेको एक गोल नै नेपालको लागि निर्णायक गोल सावित भयो । गीता रानाले प्रहार गरेको फ्रिकिक बललाई सदुपयोग गर्दै सावित्राले हेड गोल गरिन् ।

अब नेपालले उपाधिका लागि यही भदौ २६ गते हुने फाइनल खेलमा उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन् । जसमा आयोजक किर्गिस्तान र ताजकिस्तान प्रतियोगिताबाट बाहिरिएका छन् ।

नेपालले यसअघि खेलेको पहिलो खेलमा आयोजक किर्गिस्तानलाई ८–२ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्