पर्यटनमन्त्रीको योजनाः गुनासो सुन्न मासिक गोलमेच



२३ भदौ २०७६, काठमाडौं

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले सबैको सुझावको आधारमा अघि बढ्ने स्पष्ट पार्दै आएका छन्।

जनसरोकारका विषयमा लोकप्रियता र विश्वसनीयता कायम गर्नका लागि मन्त्री भट्टराईले आफ्ना मन्त्रालयसँग सरोकार राख्ने सबै पक्षसित हातेमालो गरेर अघि बढ्ने नीति लिएका छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सरोकार राख्ने विषयमा गुनासा, सुझाव र परामर्शका लागि मासिक रुपमा ‘गोलमेच’ गर्ने तयारीमा उनी लागेका छन्।

‘दिनदिनै सबैलाई भेट्न सम्भव हुँदैन तर, सबैको परामर्श र गुनासो सुन्नुपर्छ’ उनले भने, ‘सरोकारवाला सबैको सुझाव लिन, गुनासो सुन्न र भावी योजनालाई प्रभावकारी बनाउन अब मासिक रुपमा एउटा गोलमेच नै राख्नेछु।’

नीति नियम, ऐन कानुन बनाउँदा समेत सबै सरोकारवालाको सुझाव लिएर अघि बढ्ने उनको भनाइ छ। सबै पक्षलाई समेटेर अघि बढ्दा लक्षित कार्यक्रम सफल बनाउन सहज हुने उनको बुझाइ छ।

भ्रमण वर्ष २०२० जस्तो महत्वकांक्षी योजनालाई सफल बनाउन पनि उनले सबै पक्षको सहयोगको अपेक्षा गरेका छन्

प्रतिक्रिया दिनुहोस्