सोलुखुम्बुमा हेलिकप्टरबाट सामान झरेपछि : स्थानीयले गरे असुक्षित महसुस



२२ भदौ २०७६, काठमाडौं

सोलुखुम्बुको फेरामा उड्दै गरेको बेला हेलिकप्टरबाट सामान खसेको छ । फाप्लुबाट स्याङबोचे कार्गो ढुवानी गर्ने क्रममा हेलिकप्टरबाट सामान झरेको स्थानीयले बताएका छन् ।

केही समयदेखि फाप्लु विमानस्थलबाट स्याङबोचे विमानस्थलमा कार्गो ढुवानी गरिरहेको कैलाश एयरको हेलिकप्टरबाट सिरकलगायतको सामान झरेको उनीहरुको भनाइ छ ।

कैलाश एयरको माइक लिमा कल साइन भएको हेलिकप्टरबाट सामान खसेपछि स्थानीयले असुरक्षाको महसुस गरेका छन् । उड्दै गरेको हेलिकप्टरबाट सामान झरेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालयकोसमेत ध्यानाकर्षण गराएका छन् । लापर्वाहीका कारण सामाग्री झरेको उनीहरुको आरोप छ ।

जिल्ला प्रशासन कार्यालयमा स्थानीयको ध्यानाकर्षण पश्चात् प्रमुख जिल्ला अधिकारी बेदनिधि खनालले कम्पनीले सामानहरु ढुवानी गर्दा विशेष सावधानी अपनाउनु पर्ने बताएका छन् । कम्पनीको सानो कमजोरीले ठूलो दुर्घटना हुने भन्दै यस्ता कार्यमा कम्पनी जिम्मेवार बन्न प्रहरी नायब उपरीक्षक डीएसपी नारायणप्रसाद चिमरियाले आग्रह गरेका छन् ।

कैलाश एयरका कर्मचारी विलक श्रेष्ठले भने अञ्जानमा गल्ती भएकाले त्यसलाई सुधार्ने बताएको छ । ध्यान दिँदा दिँदै पनि गल्ती हुन गएको र आउँदा दिनमा यस प्रकारको घटना नदोहोरिने उनले बताएको छ । हेलिकप्टर क्याप्टेन आशिष शेरचनले उडाएका थिए ।

प्रतिक्रिया दिनुहोस्