चिनियाँ विदेशमन्त्री आइतबार नेपाल आउँदै



२१ भदौ २०७६, काठमाडौं

चिनियाँ विदेशमन्त्री वाङ्ग यी तीन दिने नेपाल भ्रमणका क्रममा आइतबार नेपाल आउने भएका छन्।

चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल भ्रमणमा आउने चर्चाकाबीच हुन लागेको वाङ यीको यो भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि चिनियाँ विदेशमन्त्री नेपाल भ्रमणमा आउने स्रोतहरुले बताए पनि परराष्ट्र मन्त्रालयले भने त्यसको पुष्टि गरेको थिएन।

विदेशमन्त्री यीको भ्रमणको पुष्टि गर्दै पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा यी आइतबार नेपाल भ्रमणमा आउन लागेको मन्त्रालयले जनाएको छ। उनको भ्रमण तीन दिनको हुने पनि जनाइएको छ।

नेपाल बसाइका क्रममा वाङ्गले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेट गर्ने कार्यक्रम तय भएको छ। त्यस्तै परराष्ट्रमन्त्री ज्ञवालीसँग विदेशमन्त्री वाङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार औपचारिक द्विपक्षीय वार्ता गर्नेछ।

सोही दिन परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री वाङ्गको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्