भोलिदेखि सुरु हुने कागेश्वरी महामेलाको सम्पूर्ण तयारी पूरा, डेढ लाख पर्यटक भित्र्याउने घोषणा



१८ भदौ २०७६, काठमाडौं

कागेश्वरी मनोहरा नगरपालिकाको गागलफेदीमा अवस्थित् कागेश्वरी महादेव मन्दिरमा भदौ १९ गतेदेखि भदौ २१ गतेसम्म महामेला लाग्ने भएको छ । उक्त मेलाको सम्पूर्ण तयारी पूरा भएकोबारे कागेश्वरी महामेला व्यवस्थापन समितिले रिपोर्टर्स क्लबमा बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

कागेश्वरी नगरपालिकाका नगर प्रमुख एवम् महामेला व्यवस्थापन समितिका संरक्षक कृष्णहरि थापाले महामेला भव्य र सभ्य हुने बताउँदै देशभित्र र बाहिरका सबै भक्तजनहरुलाई निम्तो दिए । उनले मेलामा पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै एक लाख पचास हजार पर्यटक भित्र्याउने उद्धेश्य राखेको बताए ।

नगरपालिकाको नामनै कागेश्वरी महादेव मन्दिरको नामबाट राखिएको हुँदा उक्त मन्दिरमा लाग्ने मेलालाई नगरपालिकाले बिशेष महत्व दिएको छ । नगरपालिकाले तीन दिनसम्म बिशेष कार्यक्रम गर्ने कार्यतालिका बनाएको छ ।

धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्ने उद्धेश्यले नगरपालिकाले २२७ किलो धातुको कागको मूर्ती स्थापना गरी कागेश्वरी महादेब मन्दिरको पहिचान बनाएको पनि थापाले जनाए । भदौ १९ गते कागेश्वरी मेलाको उद्घाट्न गरी साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, भदौ २० गते धार्मिक प्रबचन र महात्म्य संचालन हुने र भदौ २१ गते मन्दिरको सरसफाई गर्ने कार्यक्रम रहेको थापाले बताए ।

उनले मन्दिरको डिजाईन पुरातात्विक विभागबाट गराएको र ६ करोडको बजेट छुट्याएको साथै मन्दिर वरपर पर्यटकलाई लक्षित गरी भ्यू–टावर, पिकनिक स्पट बनाउने बताए । उनले मन्दिरमा जानका लागि सुन्दरीजल, गागलफेदी, कागेश्वरी नगरपालिका हुँदै छोटो बाटोको प्रयोग गरी जान सकिने पनि जानकारी दिए ।

कार्यक्रममा कागेश्वरी–मनोहरा नगरपालिका वडा नम्बर एकका अध्यक्ष एवम् महामेला व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द गजुरेलले महामेलाको सम्पूर्ण तयारी भएको र कार्यक्रममा सानो ठाउँको बाबजुतपनि भक्तजनहरुलगायत सम्पूर्ण पत्रकार मित्रहरुलाई मेलामा उपस्थितिका लागि आमन्त्रण गरेका छन् । कार्यक्रममा सानो क्षेत्रलाई जतिसक्दो व्यवस्थित् गर्ने र आगामी वर्षमा मेलालाई मध्येनजर गर्दै ठाउँ व्यवस्थापन गर्ने पनि विश्वास दिलाए ।

मेलामा नगरपालिकाभित्र सार्वजानिक विदा दिने परम्परालाई यसपालिपनि निरन्तरता दिईएको आयोजकको भनाई छ ।

ॐकार ध्वनीका संस्थापक मुकुन्द शर्माले चराचर जगतको महिमा सुनाउँदै तीन दिनको अनुष्ठान् मेलाका लागि अभियान सुरु भएको अभियान  अत्यन्त राम्रो र धार्मिक भएको प्रतिक्रिया दिए ।

उक्त मेलामा जाने भक्तजनहरुले गोसाईकुण्डको जल लिएर गए पवित्र हुने विश्वास रहेको पनि उनले सुनाए । उनले कागले छोए वा विस्टाएमा दशा लाग्ने रुढीबादी परम्परा भएको र कागले छोएमा कागेश्वरीको दर्शन गर्न जानु भन्ने परम्परा रहेको बताए ।

उनले भने,‘यस मन्दिरमा मकै ल्याएर कागलाई अर्पण गर्नु, यहाँ अवस्थित् पर्वतमा चढ्यो भने असम्य यज्ञ गरेको फल पाईने किम्बदन्ती छ ।’ कागेश्वरी मन्दिर स्वर्गको नमूनाको रुपमा रहेको र उक्त मन्दिरबाट काठमाडांै उपत्यकाको पनि मनोरम दृश्यहरुको दर्शन गर्न पाईने पनि शर्माले जनाए ।

धार्मिक पर्यटकीय गन्तव्यको रुपमा परिचित उक्त क्षेत्रमा अहिले आन्तरिक एवं बाह्य पर्यटकको संख्या दैनिक बढ्दै गएको पनि आयोजकको दाबी छ । नेपालको धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित कागेश्वरी महादेव मन्दिरमा हरेक वर्ष कागेअष्टमीका दिन विशेष मेला लाग्ने गर्दछ ।

कागेअष्टमीका दिन दर्शन गर्नाले सम्पूर्ण पाप नाश हुने, लोकमा सुख, शान्ति र सदभाव हाँसिल गरी परलोकमा मोक्ष पाइन्छ भन्ने जनविश्वास रहँदै आएको छ । रत्नपार्कदेखि २० किलोमिटरमा अवस्थित् उक्त मन्दिरमा परापूर्व कालदेखि नै मेला लाग्ने गरेको जनविश्वास रहीआएको छ ।

प्रतिक्रिया दिनुहोस्