
१८ भदौ २०७६, काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई आराम गर्न दिन नेकपालाई आग्रह गरेका छन्।
संसदमा नेकपाको बहुमत रहेको र सजिलैसँग संसदले नयाँ प्रधानमन्त्री छान्न सक्ने स्मरण गराउँदै थापाले आग्रह गरेका हुन्।
‘नेकपामा प्रधानमन्त्री भएका व्यक्ति पार्टीमा हुनुहुन्छ। प्रधानमन्त्रीको इच्छा राख्ने व्यक्तिहरू हुनुहुन्छ। यस्तो बेलामा हामी विश्राम दिन किन चाहिरहेका छैनौं? उनले प्रश्न गरे।
‘नेकपामा युवा साथीहरूले प्रधानमन्त्रीलाई बा भनेको सुनेको छु। प्रधानमन्त्री हाम्रो पनि बा’सरह हुनुहुन्छ। हाम्रा बा बिरामी हुनुभएको भए धपेडी नगर्नुस्। आराम गर्नुस्, विश्राम लिनुस् भन्थ्यौं। हामी प्रधानमन्त्रीलाई बालाई जस्ता किन भन्दैनौं? उनले भने।
बुधबारको प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे सम्पूर्ण जानकारी नआएको भन्दै उनले शीघ्र स्वास्थ्य लाभको कामना गरे।
‘संविधानतः कार्यकारी अधिकार मन्त्रिपरिषद्मा निहित छ। र मन्त्रिपरिषद्को प्रमुख प्रधानमन्त्री हुनुहुन्छ। संसदको कामको सिर्जना पनि प्रधानमन्त्रीबाट हुन्छ। पछिल्ला दिनमा प्रधानमन्त्रीको कार्यबोझ बढाइएको छ। प्रधानमन्त्रीले यी सबैको इच्छाशक्ति राख्नुहुन्छ भन्ने कुरामा दुई मत छैन। तर इच्छाशक्ति मात्रै सबैथोक होइन। शारीरिक स्वास्थ्यले पनि धेरै थोक निर्धारण गर्छ।’ उनले भने।
थापाले कार्यकारी प्रमुख लामो समय देश बाहिर बस्दा एकातिर राष्ट्रिय सुरक्षा, कूटनीतिक मर्यादा आदिमा जोखिमको प्रश्न उठ्ने बताए। उनले प्रत्येक दुई तीन महिनामा दस बाह्र दिन देश बाहिर गएर भिडियो कन्फेरेन्समार्फत् मन्त्रीहरूको ब्रिफिङ लिएर देश चलाउने कुराबाट शासकीय जिम्मेवारी पूरा हुन नसक्ने बताए।
साथै उनले प्रधानमन्त्रीले सिंगापुरबाट फर्किएपछि लगातार कुनै विश्राम नलिइकन काम गर्न सक्छु भन्ने अवस्था बनोस् भनी प्रार्थनासमेत गरे।





