
१८ भदौ २०७६, काठमाडौं
रसुवाको गोसाईकुण्ड गाउँपालिका–२, टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको छ।
मंगलबार साँझ साढे चार बजे रसुवागढी नाकाभन्दा ४ किलोमिटर नजिक टिमुरेमा नेपाल प्रहरीले सवारी चालकमाथि कुटपिट गरेको हो।
नेपाल प्रहरीका दुई व्यक्तिले जिल्लाको आमाछोदिङमो गाउँपालिका ३ गतलाङका श्रीमान तामाङलाई बिच सडकमा कुटपिट गरेका हुन्।
कुटपिट गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ। चालक तामाङ ना ६ ख ४९२५ नम्बरको कन्टेनरका चालक हुन्।
चीन सरकारले नेपाल सरकारलाई सहयोग गरेको सैन्य सहयोग अन्तर्गत रसुवागढी नाका हुँदै आएका सवारी साधनको ट्राफिक जाम हटाउन प्रहरीले केरुङ जाने कन्टेनरका चालकमाथि दिउँसै दुर्व्यवहार गरेको चालकहरुले बताएका छन्।
सामाजिक सञ्जालमा भाइरल भएको भिडियोको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै प्रहरीले विज्ञप्ती निकालेको छ। सार्वजनिक भएको भिडियोका सन्दर्भमा चालकलाई नियन्त्रणमा लिने क्रममा खिचिएको भिडियोप्रति प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ।
विज्ञप्तिमा घटनाबारे छानबिन गरि दोषी उपर कारबाही गरिने भनिएको छ, भने कुटपिट गर्ने प्रहरीको नाम सार्वजनिक गरिएको छैन। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भाग्येन्द्र पुरुष ढकालले जानकारी दिए। प्रहरीले चालक तामाङलाई छानबिनको लागि नियन्त्रणमा लिएको छ।
सवारी चालकमाथि कुटपिट गरेको भन्दै आज कन्टेनर चालकहरुले रसुवा बन्दको आह्वान गरेका छन्। प्रहरीले ज्यादती गरेको विरोधमा गए राति नै चालकले टिमुरेमा जुलुस प्रर्दशन गरेका थिए।





