दशैंका लागि अग्रीम टिकट बुकिङ २५ भदौबाट खोल्न प्रस्ताव



१६ भदौ २०७६, काठमाडौं

सरकारले २५ भदौबाट दशैंको अग्रीम टिकट बुकिङ खोल्न प्रस्ताव गरेको छ।

यातायात व्यवस्था विभागले यसबारे छलफल गर्न व्यवसायीहरुलाई बुधबार बोलाएको छ। व्यवसायीहरु सहमत भए २५ भदौबाट बुकिङ खुल्ने विभागका महानिर्देशक गोगबहादुर हमालले बताए।

‘व्यवसायीले राख्दै आएका धेरै मागहरु पूरा गरिसकेका छौं, त्यसैले बुकिङ प्रस्तावित मितीमै खोल्न सकिन्छ,’ उनले भने ।

व्यवसायीहरुले भाडादर बढाउनुपर्ने माग गरेका छन्। विभागसँग भएका छलफलहरुमा उनीहरुले वैज्ञानिक भाडा समायोजनलगायतका मुद्दा उठाएका छन्।

डेढ महिनाअघि सरकारले भाडादर समायोजन गरेको थियो। तर, ५ घण्टा नबित्दै निर्णय फिर्ता लिएको थियो।

यातायात व्यवसायीले दशैंको अग्रीम टिकट बुकिङ खोल्ने समयमा भाडादर समायोजनलाई मुद्दा बनाएका छन्।

प्रतिक्रिया दिनुहोस्