पशुपति क्षेत्रको जिफन्ट आन्दोलनमा डा. राजन भट्टराईको चासो



१५ भदौ २०७६, काठमाडौं

पशुपति क्षेत्र विकास कोष अन्तर्गत नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) आबद्ध प्रतिष्ठान स्तरको नेपाल कर्मचारी युनियनले ४० बुँदे माग राखी अल्टिमेटम दिए सँगै नेकपा उपत्यका समन्वय कमिटी अध्यक्ष तथा केन्द्रीय सदस्य डा. राजन भट्टराईले सरोकारवालासँग छलफल गरेका छन् ।

छलफलमा स्थानीय अगुवा बिनोद रिमालले पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार, बेथिती र बिसंगती रहेकोले नेपाल कर्मचारी युनियनले ४० सूत्रीय माग राखेको बताउँदै जिम्मेवार नेताको रुपमा युनियनको माग सम्बोधन गर्न सहयोग गर्नुपर्ने बताए ।

नेकपाका स्थानीय नेता जलद राज बैद्यले पशुपति क्षेत्र विकास कोषले चार बर्षअघि अधिग्रहण गरेको देशउद्वार गुठिको जग्गा प्राय मोहीलाई मुआब्जा दिएर पनि घरहरु नभत्काई भ्रष्टाचार गरेको र तीन चार घरका मोहीले  मुआब्जा  समेत नपाएको जानकारी गराए ।

नेकपा जिल्ला नेता निर्मल देउलाले यस क्षेत्रको समस्या पशुपति वरीपरी घुमिरहेको बताउँदै हेर्दा धेरै गर्न सकिने ठाउँमा समेत पहुँच कम भएको र पशुपति क्षेत्र विकास कोषमा खाली रहेको तीन सदस्य तत्काल थप्नुपर्ने बताए ।

नेकपा प्रदेश सदस्य तथा स्थानीयवासी निर्मल कुईकेलले पार्टी एकताको क्रममा केही साथीहरु जिम्मेवारीबाट छुटेको बताउँदै पशुपति क्षेत्रको समग्र विकासका लागि पशुपति क्षेत्र विकास कोषमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने अवस्था रहेको बताए ।

रिङ्गरोड बिस्तारसँगै कामपा ७, ८ र ९ मा पर्ने ४२ घरको क्षतिबारे अहिलेदेखि पहल गरी न्याय दिन समेत जोड दिए ।

कार्यक्रममा सहभागीहरुले डा. भट्टराईको ध्यान बूढानीलकण्ठ क्षेत्रमा मात्रै केन्द्रित भएकोमा गुनासो समेत गरेका थिए । बिकास निर्माण र राजनीतिक गतिविधिमा काठमाडौं महानगरपालिकातर्फ समेत समुचित ध्यान दिन अनुरोध समेत गरेका थिए ।

जवाफमा डा. भट्टराईले पशुपति क्षेत्रको विकास क्षेत्र नं. ४ को मात्र नभई समग्र देशको गौरब भएकोले यसको संचालन र ब्यवस्थापन पारदर्शी र नियमसंगत हुनुपर्ने उनको जोड थियो । ट्रेड युनियनले पेशागत र समग्र पशुपति क्षेत्र विकास कोषको पारदर्शीता र सुधारका लागि उठाएका जायज मागहरु प्रति आफ्नो ध्यान गएको बताउँदै आवश्यक पहल गर्ने आश्वासन समेत दिएका छन् । स्थानीय र क्षेत्रगत विकासको लागि स्थानीय साथीहरू जाग्नुपर्ने बताउँदै विकास निर्माणको लागि महानगर; प्रदेश र संघीय सरकारबाट गर्नुपर्ने पहलको लागि आफू तयार रहेको बताए ।

यो पनि पढ्नुहोस् :

गुह्येश्वरीको बेथिति : विश्व सम्पदा सूचीको बेहाल, सरोकारवाला मौन (फोटो फिचर)

पशुपति क्षेत्र विकास कोषलाई नेपाल कर्मचारी युनियनको पन्ध्र दिने अल्टिमेटम

प्रतिक्रिया दिनुहोस्