
१५ भदौ २०७६, काठमाडौं
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संघीयताको बुझाईमा संविधान जारी गर्दाका सहयात्री दलहरुबीच नै एकरुपता कायम नभएको गुनासो पोखेका छन् । उनले भने,‘संघीयताको बारेमा हामीहरुबीच एकरुपता भएको छैन् ।’
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले अझैपनि शिक्षा, स्वास्थ्यलगायतका महत्वपूर्ण क्षेत्रमा संघीयता कार्यान्वयनमा नगएको गुनासो पोखे । उनले भने,‘अहिलेपनि थुप्रै मन्त्रालयहरु संघीयताको मर्म र भावनाअनुसार अघि बढेका छैनन्, संघीयता कार्यान्वयन गर्नेतर्फ कानुन तथा विद्येयकहरु पेश भएका छैनन् ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले संविधान र मुलुकको व्यवस्था नयाँ भएपनि काम गर्ने शैली पूरानै भएको र ऐन, कानून र विद्येयकहरु नयाँ आउन नसकेको टिप्पणी गरे । उनले भने,‘हाम्रो व्यवस्था सर्वोत्कृष्ट छ । तर, संविधान कार्यान्वयनमा समस्या छ ।’ शर्माले केन्द्रका मन्त्रालयहरुले संघीयता कार्यान्वयन गर्नेगरि उपयुक्त कानून तथा ऐन बनाउन समस्या रहेको कुरा पटक–पटक सुनाए ।
शमाले वर्तमान सरकार असफल नभएको जिकिर गरे । उनले भने,‘यो सरकारले सर्बोत्कृष्ट काम गर्छ । हामीले नसके भोलि कांग्रेस र राजपाका साथीहरु सरकारमा आउने हो । दलीय प्रणालीमा यो नौलो कुरा होईन् ।’ उनले केन्द्र सरकारका मन्त्रीहरुले प्रदेश तथा स्थानीय तहलाई अधिकार दिनको लागि हिचकिचाएको पनि आरोप लगाए ।
उनले भने,‘संघका मन्त्रीहरुले तल अधिकार दिनको लागि अहिले हिचकिचाउने काम गर्नुभएको छ । तल अधिकार दिनको लागि कन्जुस्याँई गर्नुहुँदैन् । अधिकार जति आफ्नो मुठ्ठीमा राखेर बस्नुहुँदैन । यसरी कसरी देश समृद्ध हुन्छ ?’
उनले आफूहरुले संघीयताविरोधी विद्येयकहरु नल्याउनको लागि संघका मन्त्रीहरुलाई निर्देशन दिएको सुनाए । उनले वर्तमान सरकारले देश र जनताको हितमा काम गर्नेमा आफू विश्वस्त रहेको सुनाए ।
पूर्वमन्त्री समेत रहेका शर्माले व्यवस्था र संविधानको विरोध गर्न नपाईने जिकिर गरे । उनले भने,‘सरकारको कामकारबाहीलाई विरोध गर्न पाईन्छ, आलोचना गर्न पाईन्छ । तर, व्यवस्थाको विरोध गर्न पाईँदैन् ।’
शर्माले देशमा पछिल्लो समय समाजलाई विकृत बनाउनको लागि केही परिवर्तनविरोधी शक्तिबाट गलत कामहरु भैरहेकोतर्फ सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘गौहत्या जो अहिले भएको छ, यसमा हाम्रो दु:ख छ ।’ उनले दलहरुबीच राष्ट्रिय एजेण्डामा सहमति हुनुपर्ने धारणा राखे ।
उनले मधेशको मुद्दा सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए । उनले भने,‘मधेशको मुद्दा सम्बोधन गर्नुपर्छ । यसको लागि संविधानलाई परिस्कृत गर्नुपर्छ ।’ शर्माले मिडिया काउन्सिल विद्येयक पनि आफुहरुले व्यापक सुधार गरेर ल्याएको सुनाए । उनले भने,‘हामीले यसमा प्रशस्त संशोधन गरेका छौं । यसलाई समृद्ध बनाएका छौं । यो विद्येयक सबैको सहमतिमा आएको छ ।’
राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले पछिल्लो समय संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमाथि समस्या आएको सुनाए । उनले भने,‘मुलुकमा छिटो–छिटो परिवर्तन भएको छ । अहिले राजा आउ, देश बचाउ भनेको पनि सुनियो । यसलाई अन्यथा लिनुहुँदैन् ।’
मुलुकमा संघीयता आएको भएपनि आएकै दिनदेखि यो व्यवस्थाको विरोध गर्नेहरु आजपनि सक्रिय रहेको उनको भनाई छ । संघीयता कार्यान्वयन हुन नसके मुलुक फेरि जोखिममा पर्ने कर्णले खतरा औंल्याए । यद्धपी उनले संघीयता परिवर्तनशील विषय भएको पनि सुनाए ।
तर, संघीयतालाई सुरुवातमै लंगडो बनाईएको उनको गुनासो छ । उनले भने,‘सिद्धान्तत: संघीयता धेरै राम्रो छ । तर, हामीले संविधानमा लेखेका कुरापनि पालना गरेनौं । अहिले प्रहरी पोशाकपनि केन्द्रबाट नै बनाउने भनिएको छ । यो भनेको ठूलो कमिशनको खेल हो । अहिलेपनि जनप्रतिनिधिहरुले काम गर्न नसकेको गुनासो छ ।’
मुलुकमा भ्रष्टाचार मौलाएकोप्रति आपत्ति जनाउँदै उनले सरकार निर्मम रुपमा प्रस्तुत हुनुपर्ने माग गरे । उनले भने,‘अख्तियारले अहिले गाउँपालिकाका साना तिना भुरा माछाहरु समातेको छ । अहिलेसम्म संघका एक जना मन्त्री पनि समात्न सकेको छैन् । ठूला माछा समात्यो भने आफ्नै जागिर जान्छ भन्ने डर अख्तियारका मान्छेलाई परेको छ ।’
कर्णले मुलुकको व्यवस्था नै अहिले डामाडोल भैरहेकोप्रति गुनासो पोखे । उनले भने,‘अहिले देशमा राष्ट्रिय नेता नै कोही छैन् । नेताहरुले आफ्नो क्षेत्रको मात्रै चिन्ता गर्छन् ।’ उनलेपनि दलहरु राष्ट्रिय मुद्दामा मिल्नुको विकल्प नभएको सुझाए । उनले भने,‘अहिले हामी धेरै पछि परिसक्यौं । जनताबाट आलोचनाको शिकार बनेका छौं । अब सोच्ने बेला आएको छ ।’
उनले आफ्नो पार्टीले यो वर्षको संविधान दिवसलाई पनि कालो दिवसको रुपमा मनाउने जानकारी दिए । उनले भने,‘हामीले अहिलेसम्म संविधान दिवस मनाएका छैनौं । सुरुदेखि नै कालो दिवसको रुपमा मनाएका छौं ।’ उनले समाजवादी पार्टीसँग एकताको लागि यसअघि नै प्रस्ताव गैसकेको सुनाए ।
उनले पार्टी एकता हुनु राम्रो कुरा भएको सुनाउँदै मिल्नुभन्दा अगाडि धेरै छलफल गर्नुपर्ने बताए । उनले भने,‘अहिले एकता गरेर पछाडि पछुताउने काम गर्नुहुँदैन् ।’ उनले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपनि पार्टी एकता गरेकोमा पछुताएको सुनाउँदै एकतापूर्व धेरै पटक सोच्नुपर्ने बताए । उनले भने,‘पार्टी एकताअघि हामीबीच ठोस रुपमा र सशक्त छलफल हुनुपर्छ ।’
कर्णले गौहत्या भएको विषयमा सरकारको ध्यानाकार्षण गराए । उनले भने,‘यो विषयमा सरकारले जिम्मा लिनुपर्छ । घट्नाको बारेमा सत्य, तथ्य छानबिन गर्नुपर्छ ।’ त्यस्तै, उनले देशभरिका सरकारी अस्पतालहरु अस्तव्यस्त रहेको सुनाउँदै अस्पताल सुधारमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने,‘मन्त्रीज्यू, यहीँ हुनुहुन्छ, तपाईले औषधी र सरसफाईमा ध्यान दिनुहोस । सरकारी अस्पतालको हालत खराब छ ।’
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि केपी शर्मा ओलीको अभिनय रहेको फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुई तिहाई बहुमत हाँसिल गरेको सुनाए । उनले भने,‘अहिले दुई तिहाई बहुमत प्राप्त ओली सरकारको फिल्म फ्लप भयो ।’
समाजलाई भड्काउनको लागि होली–वाईन प्रकरण भएको सुनाउँदै उनले सरकारको आलोचना गरे । भण्डारीले भने,‘बुद्धको मुर्ती तोडफोडको घट्ना भयो । नेपालमा के हुँदैछ ? होली वाईन प्रकरणमा हाम्रा जनप्रतिनिधिहरुलाई लम्पसार बनाईयो । अहिले तीन, चार सय गाईलाई भीरबाट खसालेर मारिएको छ । जसले गरेपनि, यो मुलुकमा द्वन्द्व फैलाउन खोज्ने षड्यन्त्र हो ।’
अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भैरहेको उनको चिन्ता छ । उनले भने,‘हामीले हाम्रो देशको क्षमता आँकलन गर्न सकेनौं । ९, १० खर्बको राजश्व उठ्छ, तर देशका तलदेखि माथिल्लो तहका सबै कर्मचारीको तलबमा देशको बजेट खर्च हुन्छ ।’
विगतमा देशमा एउटा राजामात्रै भएको तर अहिले आएर सयौं राजा, सयौं युवराज र सयौं युवराज्ञीहरु बन्न थालेको पनि उनको आरोप छ । उनले भने,‘हाम्रा नेता तथा मन्त्रीहरुलाई फरक कुर्सी चाहिन्छ । नेताहरुलाई खोकी लाग्यो भने उपचारको लागि विदेश जानुपर्छ ।’ आफूहरुले प्रणालीलाई चलाउन नजानेको उनको टिप्पणी छ ।
नेता भण्डारीले व्यक्ति असफल भएपनि व्यवस्था कहिल्यैपनि असफल नहुने तर्क गरे । उनले भने,‘हाम्रा थुप्रै कमिकमजोरीहरु छन् । यस्तो पाराले त जुनसुकै बेला दुर्घट्ना हुनसक्छ ।’ उनले देशमा पछिल्लो समय देखिएको डेंगु संक्रमणलाई नियन्त्रण गर्नको लागि सरकार गम्भिर हुनुपर्ने पनि सुझाव दिए । उनले भने,‘यदि डेंगु नियन्त्रण गर्न सेना सक्षम छ भने यसलाई प्रयोग गर्नुपर्छ । सरकारले यसबारेमा स्पष्ट कुरा गर्नुपर्छ । बोल्न डराउनुहुँदैन् । सेनापनि राज्यको संयन्त्र हो ।’ उनले जनताका आवाज संसदमा त्यति उठ्न नसकेकोमा चिन्ता व्यक्त गरे । उनले थपे,‘अहिले यसरी गौहत्या भएको छ । तर, संसदमा यो कुरा उठेको छैन् । मुलकुको धर्म,संस्कृतिमाथि प्रहार गर्ने काम कतैबाट पनि गर्नुहुँदैन् ।’
भण्डारीले संघीय प्रणाली आफैंमा नराम्रो नभएको जिकिर गरे । उनले भने,‘यो प्रणाली आफैंमा धेरै नराम्रो होईन, तर यो धेरै महँगो भयो भन्न थालिएको छ ।’ उनले वाईडबडी खरिद प्रकरणमा सरकार र अख्तियारले दोषीलाई कारबाही गर्नुपर्ने सुझाव दिए । उनले भने,‘जोसुकै होस, यसमा दोषी देखिए कारबाही गरे भैगयो नि । किन कारबाही गर्न डराउनु ? तर, कारबाही निश्पक्ष हुनुपर्छ ।’
भण्डारीले देश बनाउने हो भने भ्रष्टाचारमा संलग्न जोसुकै भएपनि कारबाही गर्नुपर्ने धारणा राखे । उनले भने,‘भ्रष्टाचारीहरुलाई धमाधम कारबाही गर्ने हो भने धेरै नेताहरु अहिले जेल पर्छन् । सरकारसँग काम गर्ने क्षमता छैन । भ्रष्टहरुलाई कारबाही गर्ने हुति छैन् ।’ उनले नेताहरुको पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।
आफ्नो पार्टीका सभापति एवम्् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि वाईडबडी खरिद घोटालामा संलग्न दोषीहरुलाई कारबाही गर्नुपर्ने भनेर संसदमै बोलिसकेको भण्डारीले सुनाए ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र यादवले डेंगुबाट संक्रमण भएका विरामीहरुलाई सरकारले नि:शुल्क उपचार गर्ने बताएका छन् । उनले भने,‘यसको उपचारको लागि सरकार पूर्व तयारीमा छ । कुनैपनि विरामीलाई एक रुपैयाँपनि उपचारको लागि पैसा लाग्दैन् । यसबाट कसैको पनि मृत्यु हुँदैन् ।’
राज्यमन्त्री यादवले पछिल्लो समय मुलुकमा डेंगुको समस्या विकराल भएको सुनाए । आफूहरुले यसबाट बच्नको लागि अभियान नै चलाएको पनि उनको भनाई छ । उनले भने,‘यसको लागि हामीले प्रत्येक प्रदेशलाई ८० लाख रुपैयाँ र गाउँपालिकाहरुलाई दश लाख दिएका थियौं ।’
उनले लार्भाहरुबाट डेंगुको संक्रमण हुने गरेको सुनाए । उनले भने,‘यसले टाईडर मस्क्युटो बनाउँछ ।’ डेंगु नियन्त्रणको लागि नेपाली सेना प्रयोग गर्ने कुरा नभएको पनि मन्त्री यादवले स्पष्ट पारे । डेंगुबाट प्रभावितहरुलाई काठमाडौंको टेकु अस्पतालमा ३२ जनालाई नि:शुल्क उपचार गरिएको पनि उनले जनाए ।
फरक प्रसँगमा मन्त्री यादवले मुलुकमा संघीयता कार्यान्वयनको चरणमा रहेपनि अहिलेसम्म तीन चरणका सरकारबीच कुनै सहकार्य नदेखिएको गुनासो पोखे । उनले भने,‘अहिले तीन तहबीच जसरी सहकायर्ए हुनुपर्दथ्यो, त्यो भएको देखिएन् ।’
यद्धपी उनले पछिल्लो समय मुलुकमा आईपरेका विभिन्न प्राकृतिक विपदमा भने प्रान्तबाट राम्रो काम भएको सुनाए । उनले भने,‘बाढी, पहिरो र डुबानकै कुरा गर्दापनि विपतिमा स्थानीय तहबाट पनि राम्रो तदारुकता देखाईएको थियो । विगत वर्षमा विपतिको बेलामा केन्द्रबाट निर्णय लिँदा ढिलाई हुन्थ्यो, तर यो वर्ष त्यस्तो भएन् ।’ उनले २ नम्बर प्रदेशमा भ्रष्टाचार भयो भनेर बाहिर टिप्पणी भैरहेको सुनाउँदै अझैपनि प्रदेशले कर्मचारी नपाएको गुनासो पोखे ।





