
१३ भदौ २०७६, काठमाडौं
प्रहरीको इतिहासमा बहुचर्चित सुडान घोटाला काण्डका फरार दोषी ठेकेदार शम्भू भारती पक्राउ परेका छन्।
फरार ठेकेदार शम्भू भारतीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको हो। पक्राउको पुष्टि सिआइबीका प्रवक्ता तथा एसपी दीपक रेग्मीले गरेका छन्। भारतीलाई शुक्रबार पक्राउ गरिएको हो।
कहाँबाट पक्राउ गरिएको हो भन्ने विषय खुलाइएको छैन। सर्वोच्च अदालतले भारतीलाई १४ करोड २० लाख बिगो जरिवानासहित एक वर्ष जेल सजाय फैसला गरेको थियो।
सुडान घोटाला काण्डमा पूर्व आइजिपीहरु ओमविक्रम राणा, हेमबहादुर गुरुङ, रमेशचन्द ठकुरी समेत दोषी ठहर भई सजाय भुक्तान गरी रिहा भइसकेका छन्। दोषी ठहर भएका पूर्वआइजिपी रमेशचन्द ठकुरीले असार १९ मा सर्वोच्च अदालतमा आत्मसर्पण गरेका थिए।
उनलाई २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएको छ। पूर्व डिआइजी दीपक श्रेष्ठ र रवि राणा यसअघि नै कैद भुक्तान गरी छुटिसकेका छन्।
नेपाल प्रहरीको सुडानस्थित शान्ति मिसनका लागि आवश्यक एपिसीसहित बन्दोबस्तीका सामान खरिदमा २९ करोड भ्रष्टाचार गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ठहर थियो।





