सामाजिक बिकास र सहकारी मन्त्रालयमा अनियमितताको आशंका



१२ भदौ २०७६, काठमाडौं

१ नम्बर प्रदेशसभाका सांसदहरुले समाजिक विकास मन्त्रालय, भूमिसुधार, कृषि तथा सहकारी मन्त्रालयमा अनियमितताको आशंका गरेका छन् ।  प्रदेशसभाको आजको बैठकमा शून्य समय लिएर बोल्दै सांसदहरुले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयले असार अन्तिम समयमा बजेट रकमान्तर गरेर बजेटको दुरुपयोग गरेको दाबी गरेका हुन् ।

यस्तै कतिपय सांसदहरुले कृषि मन्त्रालय र सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको कार्यक्रमको सूचीमा विचौलियालाई अवसर दिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाली कांग्रेसका सांसद हिमाल कार्कीले सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन तथा वन मन्त्रालयले असार अन्तिम समयमा बजेट रकमान्तर गरेर बजेटको दुरुपयोग गरेको आरोप लगाए । उनले पार्टी भित्रका पनि आफ्ना गुटका कार्यकर्तालाई बजेट दिइएको भन्दै रकमान्तर गरेको बजेटको फेहरिस्तबारे सदनलाई जानकारी गराउन माग गरेका छन् ।

सत्तारुढ नेकपाका सांसद हिराकुमार थापाले कृषि र सामाजिक विकास मन्त्रालयले एउटै डालोमा बजेट राखेर कार्यक्रमको सूची सार्वजनिक गरेका कारण विचौलियाले चलखेल सुरु गरेको दाबी गरे । सार्वजनिक गरिएका कार्यक्रममा विचौलियाले चलखेल गर्ने प्रशस्त अवसर दिएको भन्दै सम्बन्धीत क्षेत्रका प्रदेश सांसदहरुलाई बेखबर राखेर योजनाहरु विचौलियामार्फत आउनु दुर्भाग्यपूर्ण रहेको दाबी समेत गरे ।

यसैबीच, बैठकबाट प्रदेश स्वायत्त संस्था गठन गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ पारित भएको छ । उक्त विधेयकमाथि न्याय प्रशासन तथा विधायन समितिबाट पेश भएको प्रतिवेदन सहितको विधेयक पारित भएको हो । उक्त विधेयक पारित भएसँगै प्रदेशमा विकासका संरचना निर्माण गर्न र समृद्धिको निम्ति रोजगारी सिर्जना गर्न र गरिवि निवारण गर्न अहम भूमिका खेल्ने प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्