फेरिएको राँकेको परिचय



१२ भदौ २०७६, काठमाडौं

कुनैबेला हुस्सु र कुहिरोले ढाकेर जनजिवन नै कष्टकर बन्ने गरेको राँकेवजार आजकल ठुलो ब्यापारिक केन्द्र बनेको छ । राँके विशेष गरेर कोशेलीका लागि प्रख्यात बन्दै गएको हो ।

इलाममा उत्पादित अकबरे, बम्बैसन, ललिपपलगायतका वस्तु जिल्ला बाहिरबाट आएका पाहुनाका लागि कोशेलीका रुपमा बिक्री हुन थालेपछि चहलपहलसमेत बढेको छ ।  इलाम र पाँचथरको सिमावर्ती राँके बजारको परिचय फेरिदै गएको छ । कुनै बेला हुस्सु र कुहिरोले ढाकेको राँकेबजार अहिले कोसेली बजारका रूपमा स्थापित हुँदै गएको हो ।

यात्रुको मन लोभ्याउने र आँखा तान्ने गरी चिटिक्क परेका बट्टामा सजाएर लहरै राखिएका खोर्सानीका बट्टाहरु सडक पेटीमा देख्न सकिन्छ । प्राय बाह्रै महिना हुस्सले छपक्क पारेर ढाक्ने राँके बजारमा यात्रुलाई लक्षित गरेर अहिले कोशेली बजारको रुपमा स्थापित हुँदै गएको छ । भित्र खाजा पसल चलाएकाहरुले पनि बाहिर खाटैमा भए पनि कोशेलीको रुपमा विक्री हुने अकबरे, घ्यू, छुर्पी ललिपप राख्ने गरेका छन् । यस ठाउँमा अकबरेको अफ सिजनको बेलामा पनि १० हजार हाराहारीको कारोबार हुने व्यवसायी बताउँछन् ।

राम्रो सिजनमा दिनको ५०–६० हजार रुपैयाँसम्मको खोर्सानी बेच्ने गरेको उनीहरुले बताए । । यतिबेला पनि १० हजारदेखी माथिकै कारोबार खुर्सानीले नै हुने गरेको उनीहरु बताउँछन् । व्यपारीहरुका लागि यो अफ सिजन हो तर, अकबरे फलाउने किसानका लागि भने यो मुख्य सिजन हो । इलामको एकतप्पा, आमचोकदेखि पाँचथरका पौवा सार्ताप लगायतका गाउँका किसानको लागि राँके मुख्य बजार हो ।

राँकेबजार प्राय १२ महिना नै उत्तिकै ब्यस्त बन्दै गएको छ । तर हिउँदको सिजनमा यहाँ बढी पर्यटकहरुको चहलपहल हुने भएकाले बढी ब्यापार हुने गरेको छ । ताप्लेजुङ्गको पाथिभरा घुम्न जानेको संख्या बाक्लिएपछि राँकेमा व्यापारको सिजन अझ मौलाउने स्थानिय ब्यापारीहरु बताउँछन् । पाथीभराबाट फर्किएका धेरैजसोले राँकेबाट अकबरे, ध्यू, छुर्पी, ललिपपलगायतका परिकार कोशेलीको रुपमा लिएर फर्किने गरेका छन् ।

ताप्लेजुङको पाथिभरा, पौवाभञ्ज्याङ, साधुटारलगायतका पर्यटकीय क्षेत्रमा घुम्न आएका सिक्किम, दार्जिलिङदेखि काठमाडौ, पोखरा, विराटनगर लगायतका स्थानका पर्यटकले राँकेबाट प्राय कोशेली लिएर जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्