कान्तिपुर दैनिकको सम्पादकमा पुनः सुधीर शर्मा



०९ भदौ २०७६, काठमाडौं

करिब एक बर्षअघि कान्तिपुर दैनिकको प्रधान सम्पादकको दायित्वबाट पन्छिएका सुधीर शमा पुनः सोही पदमा नियुक्त भएका छन् ।

नारायण वाग्लेले पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले लागि पर्न आफूले कान्तिपुर छाडेको जानकारी गराएसँगै शर्माले सोमबारबाटै उक्त जिम्मेवारी सम्हाल्ने भएका छन् ।

वाग्लेले ‘प्रिय कान्तिपुरबाट विदा’ शीर्षकसहित फेसबुकमा दिएको सार्वजनिक विज्ञप्ति यस्तो रहेको छ, ‘प्रिय पाठकहरू, म कसैलाई छक्क पार्न होइन, सुनाउनुपर्ने सार्वजनिक चासोको विषय हुने भएकाले यहाँ आफ्नैबारे केही लेख्दैछु । पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लागि बढी श्रेयष्कर हुने लागेर मैले पेशागत जीवनको आज अर्को महत्वपूर्ण निर्णय गरेको छु– कान्तिपुर दैनिकबाट राजीनामा । यस अवसरमा म कान्तिपुर पब्लिकेशन्स, अध्यक्ष कैलाश सिरोहिया, सहकर्मीहरू सबैमा सहयोगप्रति निकै आभारी रहेको अवगत गराउँछु । मुख्य कुरा बल्ल ! जसले मलाई एक वर्षअघि जिम्मेवारी हस्तान्तरण गरेका थिए त्यो आज उनै प्रिय मित्र सुधीर शर्मालाई सुम्पिन पाउँदा म विशेष प्रसन्न छु । उनको व्यावसायिक निपुणता र समर्पणले पत्रिकालाई बदलिँदा चुनौतीबीच थप सुदृढ गर्नेमा म ढुक्क छु । कान्तिपुर, जसको जन्मदेखि सुरुका सत्र वर्ष म संलग्न रहेँ, दस वर्षपछि फर्केर एक वर्ष फेरि सेवा गर्न पाएँ, झन् खारिँदै सार्वजनिक हितमुखी पत्रकारिताको अगुवाई गरिरहने विश्वास गरेको छु । पाठकहरू, पत्रिकामा यस वर्ष केही भूलचुक भए माफ पाउँ । धन्यवाद ।’

प्रतिक्रिया दिनुहोस्