विकासवादी नेता डा. भट्टराईलाई ओझेलमा पार्न प्रतिपक्ष र सत्तापक्षको अस्वस्थ चलखेल



०८ भदौ २०७६, काठमाडौं

‘काम गर्ने कालु मकै खाने भालु’ भन्ने नेपाली उखान शताब्दीऔं देखि नेपाली समाजमा चर्चित छ । जुन नेकपा केन्द्रीय सदस्य, उपत्यका समन्वय कमिटिका अध्यक्ष डा. राजन भट्टराईको विकासवादी छविमा प्रतिविम्वित हुन्छ । डा. भट्टराईले गरेका कामको चर्चा गर्नु त परै जाओस्, उनको पहलमा पारिएका योजनाहरुको अपनत्वको विषयलाई लिएर आफ्नै पार्टीबाट निर्वाचित देखि प्रतिपक्ष सांसद समेत प्रचारमा व्यस्त छन् ।

अघिल्लो वर्षदेखि वडास्तरीय छलफल हुँदै नगरपालिकामार्फत डा. राजन भट्टराईको पहलमा प्रदेश अर्थमन्त्रीसँगको छलफल पछि विनियोजित विकास बजेटलाई लिएर प्रदेश सभामा सिन्को भाच्ने हैसियत नभएका प्रतिपक्ष संसादले आफ्नै फेसबुकबाट यो गरेँ र त्यो गरे भन्दै प्रचार गर्नु लजास्पद र राजनीतिक बेईमानी भएको बताउँछन्–नगरसल्लाहकार तथा नेकपा प्रदेश ३ का सदस्य सुन्दर पुर्कुटी ।

डा. राजन भट्टराईले आफ्नो निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी कार्यक्रम कपन आसपासका क्षेत्रमा पारेका छन् । यो भन्दा अगाडि सडक निर्माणको गतिलाई अघि बढाउन सडक विभागका महानिर्देशक सहित कपन आएका डा. भट्टराईलाई प्रदेश सभा सांसदकै नेतृत्वमा आएको काँग्रेस स्थानीय टोलीले अभद्र व्यवहार गरेको थियो । जुन समाचार परिवर्तन खबरले डा. राजन भट्टराईको विकास प्रयासमा काँग्रेसको अवरोध (भिडियो सहित) शीर्षकमा प्रकाशित गरेको थियो ।

त्यसपछि साततले आनिगुम्बा ढल सडक निर्माणमा बजेट विनियोजन भएपछि काँग्रेसका माननीयहरुले विज्ञप्ति नै निकालेर आफूले गरेको दावी गरें । त्यो समयमा समेत परिवर्तन खबरले कांग्रेसबाट निर्वाचित माननीयहरु आफ्नै मान घटाउन थाले भन्ने विषयमा प्रमाण सहितको समाचार प्रकाशन गरेको थियो । त्यसपछि केहि रुपमा भ्रमहरु चिरिएका थिए ।

यसपटकको वर्षामा कपन क्षेत्र डुवानमा पर्यो, त्यो बेला डा. भट्टराईलाई एकपटक स्थानीयहरुले निकै दवाब दिए त्यो बेला परिवर्तन खबरले सार्वजनिक सुनुवाईमा पुगेका डा. राजन भट्टराई स्थानीयको घेराबन्दीमा (भिडियो सहित) भन्ने शीर्षकमा समाचार प्रकाशन गरेको थियो । त्यसको पर्सिपल्ट डा. राजन भट्टराई सडक विभागको महानिर्देशक र डिई लिएरै डुवान क्षेत्रको स्थलगत अनुगमनमा गए, त्यसपछि परिवर्तन खबरले कपनको डुवान समस्या समाधानमा सक्रिय विकासवादी नेता डा. राजन भट्टराई (भिडियो सहित) शीर्षकमा समाचार प्रकाशन गर्यो ।

विकास निर्माण र जनताको समस्यालाई समाधान गर्न चुनावी परिणामको बेवास्ता गरी सक्रिय डा. भट्टराईको पहलमै डुवान क्षेत्रको दीर्घकालीन समस्या समाधानको लागि वडा कार्यालयको प्रारम्भिक डिपिआर अनुसार छिट्टै परियोजनाको प्रक्रिया अगाडि बढ्ने बुझिएको छ ।

अघिल्लो पटक डा. राजन भट्टराईकै पहलमा प्रदेश सभाबाट  प्रदेश भरिकै सर्वाधिक ठूलो शैक्षिक परियोजना कपन बहुमुखी क्याम्पस भवनको लागि विनियोजित गराएका थिए । पछि डा. भट्टराईको कामलाई छायाँमा पार्न स्थापना दिवसमा प्रोटोकल विगारेर अपमान गरियो भने क्यापसको वार्षिक साधारण सभामा निमन्त्रणा समेत गरिएन ।

त्यो बेलापनि डा. भट्टराईको कामलाई ओझेलमा पार्ने क्याम्पस व्यवस्थापनको प्रयासलाई प्रमुख अतिथि प्रदेश सांसद कार्कीले सच्याएका थिए । सो समयमा परिवर्तन खबरले उक्त समाचारलाई मेरो पहलमा १ करोड आउँथ्यो, डा. राजन भट्टराईले ५ करोड पार्नुभो : सांसद कार्की (भिडियो सहित) शीर्षकमा प्रकाशित गरेको थियो ।

पुरानो व्यवस्थापन समितिको नियत वा कमजोरी जे भएपनि डा. भट्टराईलाई गरेको बेवास्ताको परिणाम अहिले कपन बहुमुखी क्याम्पसले भोगिरहेको छ । करिब डेढ करोड बजेट हुँदा तत्काललाई संचालन गर्न सकिने क्याम्पसमा डा. भट्टराईलाई बेवास्ता गरी गरिएका सबै प्रयासहरु असफल भएपछि नयाँ कार्यसमितिले डा. भट्टराईलाई नै आवश्यक बजेटको लागि गुहार्न खोजेको बुझिएको छ ।

नेकपाको प्रभावशाली केन्द्रीय सदस्य, उपत्यका समन्वय कमिटीका अध्यक्ष मात्र होईन, नेपाल–भारत प्रबुद्ध समूहमा रहेर काम गरेका, नेपालको परराष्ट्र छविलाई उकास्न योगदान पुर्याईरहेका परराष्ट्रविद्, बौद्धिक तथा राष्ट्रिय नेतालाई स्थानीय कार्यकर्ताले समेत गर्नुपर्ने जत्ति सहयोग नगर्नुले यस क्षेत्रको विकास निर्माणको भविष्य अन्योल ग्रस्त देखिन्छ ।

यो पनि पढ्नुहोस्

डा. राजन भट्टराईको विकास प्रयासमा काँग्रेसको अवरोध (भिडियो सहित)

कांग्रेसबाट निर्वाचित माननीयहरु आफ्नै मान घटाउन थाले

मेरो पहलमा १ करोड आउँथ्यो, डा. राजन भट्टराईले ५ करोड पार्नुभो : सांसद कार्की (भिडियो सहित)

सार्वजनिक सुनुवाईमा पुगेका डा. राजन भट्टराई स्थानीयको घेराबन्दीमा (भिडियो सहित)

प्रतिक्रिया दिनुहोस्