
०८ भदौ २०७६, काठमाडौं
प्रहरीको अनुसन्धानका लागि हिरासतमा रहेका पत्रकार रवि रामिछानेकी पत्नी निकिता पौडेलमाथि पनि प्रहरीले छानविन गर्ने संकेत गरेका छन् । हिरासतमा रहेका रविको अडियो भ्वाइस रेकर्ड सार्वजनिक गरेको अभियोगमा पत्नी पौडेललाई पनि छानविनको दायरामा आउने भएकी छिन् ।
रविले भ्वाइस रेकर्ड मार्फत चितवन प्रहरी प्रमुख दानबहादुर मल्लमाथी आरोप लगाएका छन् । प्रहरी हिरासतमा भएको ब्यक्तिले मुद्दासँग सम्बन्धित बिषय प्रहरी, अदालतमा मात्र आफ्नो धारणा राख्न पाउँछ । केससँग सम्बिन्धत बिषयमा बोलेको र हिरासतमा भ्वाइस रेकर्ड गरी बाहिर पठाएको बिषयमा पत्नी निकितामाथी छानविन हुने प्रहरी स्रोतले बताएको छ ।
रविले हिरासतमा आफु प्रहरीबाट सुरक्षित नभएको बताएका थिए । पत्नी निकिता रविलाई खाना खुवाउन जाने गरेकी थिइन । खाना खुवाउन जाँदा भ्वाइस रेकर्ड गरी सामाजिक सञ्जालमा राखेको प्रहरीले बताएको छ । भ्वाइस रेकर्ड बाहिरिन साथ आइजीपी सर्वेन्द्र खनाल चितवन नै पुगेर रविलाई भेटेका थिए ।
भ्वाइस रेकर्डमा पत्रकार पुडासैनीकी पत्नीलाई आफुबिरुद्ध उजुरी दिन मल्लले नै लगाएको आरोप पनि रविले लगाएका छन् । पुडासैनीकी पत्नीले रविसहित तीन जनाबिरुद्ध किटानी जाहेरी दिइसकेकी छिन् । अनुसन्धानलाई प्रभावित पार्ने नियतका साथ निकिताले भ्वाइस रेकर्ड बाहिर पठाएको प्रहरीले ठहर गरेको छ । रवि पत्नी निकिताले केही दिनअघि चितवनका प्रहरी प्रमुखसहित तीन जनाबिरुद्ध उजुरी दिन काठमाडौं प्रहरी परिसर पुगेकी थिइन । तर प्रहरीले मानेन ।





