परराष्ट्रमन्त्री ज्ञवालीद्वारा शताब्दी पुरुष डा. सत्यमोहन जोशी सम्मानित



०७ भदौ २०७६, काठमाडौं

होप फाउण्डेशन, मैतीदेवीको आयोजनामा परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीद्वारा शताब्दी पुरुष डा. सत्यमोहन जोशी सम्मानित भएका छन् ।

सम्मान कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले पूर्वीय सभ्यतामा दीर्घजीविलाई सम्मान गर्ने राम्रो परम्परा भएको बताउँदै एक सय बर्ष पुरा गर्नु आफैंमा चमत्कारिक हो भन्दै डा. जोशीले निरन्तर नेपाली संस्कृति र सभ्यताको विकासमा योगदान पुर्याएकै कारण तीन पटक मदन पुरस्कार समेत पाएको उल्लेख गरे ।

अहिले लगानीको प्रतिफल तत्काल खोज्ने परम्पराको विकास हुँदै गएको प्रति चिन्ता गर्दै लगानीको प्रतिफल खोज्नु समाजसेवा होइन् । जुन डा. जोशीले पुरा गरेका छन् । आफू संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री हुँदा नयाँ राष्ट्रिय गान छनौट समितिको संयोजक भई डा. जोशीले पुर्याएको योगदानको समेत मन्त्री ज्ञवालीले चर्चा गरेका थिए ।

होप फाउण्डेशनका सचिव मुरारी मोहन जोशीले संचालन गरेको कार्यक्रममा पूर्व मुख्य सचिव डा. विमल कोइराला, प्राध्यापक श्रीराज जोशी, कामपा ३० का वडाध्यक्ष दल बहादुर कार्की, स्थानीय समाजसेवी डिबी गुरुङ, विश्वराज रेग्मी, सुरेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

मंगल धुन बजाएर अतिथिहरुलाई स्वागत गरेको कार्यक्रममा कोषाध्यक्ष राधा कुमारी दाहालले संस्थाको बारेमा जानकारी दिएकी थिईन भने प्रमुख अतिथि परराष्ट्रमन्त्री ज्ञवाली र विशिष्ट अतिथि डा. सत्यमोहन जोशीले गमलामा पानी हाली कार्यक्रमको उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष प्राध्यापक डा. गोपाल प्रसाद पोखरेलले सम्मान पत्र वाचन गरेका थिए भने प्राध्यापक यादव प्रसाद पन्तले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्