पशुपति क्षेत्रको पार्किङ्ग शुल्कमा अनियमितता : सम्झौता एउटा, शुल्क अर्काे



०६ भदौ २०७६, काठमाडौं

पशुपति क्षेत्र विकास कोषद्वारा स्वीकृति प्राप्त अहेड ट्रेड लिंक प्रा.लि.ले उमाकुण्ड क्षेत्रमा संचालन गरेको पार्किङ्गमा सम्झौता गरे भन्दा बढी शुल्क असुल्दै आईरहेको पाईएको छ ।

प्रतिमहिना चालिस हजार पाँच सयमा सम्झौता भई संचालनमा आएको पार्किङ्गमा कार/जिप/भ्यानमा ३० रुपैंया र मोटरसाईकलमा १५ रुपैंया शुल्क राखिएको छ । जबकी २०७६ बैशाख ८ गते पशुपति क्षेत्र विकास कोषसँग गरिएको सम्झौतामा कार/जिप/भ्यान रु. २५ र मोटरसाईकललाई रु.१० तोकिएको छ ।

सम्झौताको बुँदा नं. ११ मा पार्किङ्ग सेवा शुल्क दर प्रथम पक्षको स्वीकृति बिना बढाएर लिन पाईने छैन भनी प्रष्ट उल्लेख गरिएको छ । कम्पनीका तर्फबाट सम्झौता पत्रमा हस्ताक्षर गरेका बिरेन्द्रमान जोशीले गरेको हस्ताक्षर समेत कार्यान्वयन नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् ।

स्थानीयका अनुसार पार्किङ्ग क्षेत्र भन्दा बाहिर सडकमा पार्किङ्ग गराई सो बापतको रकम समेत असुली अनियमितता गरेको छ ।

पशुपति क्षेत्र विकास कोष र अहेड ट्रेड लिंक प्रा.लि. बिचको सम्झौता पत्र

प्रतिक्रिया दिनुहोस्