
०५ भदौ २०७६, काठमाडौं
पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा हाल प्रहरी नियन्त्रणमा रहेको न्यूज २४ का टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले प्रहरीसँगको बयानमा झुट बोलेका एक अनुसन्धान अधिकारीले बताएका छन् ।
उनले बयानका क्रममा रबिले ‘थुप्रै झूटा’ कुरा उल्लेख गरेको दाबी गरेका छन् । अनुसन्धान अधिकारीले भने, रविले यसअघि आफ्नो फेसबूकमा लेखिएका स्टाटसका सम्बन्धमा समेत झूट बोले ।
प्रहरीले शालिकराम प्रकरणमा प्राप्त भिडियो तथा अन्य प्रमाण र पोस्टमार्टम रिपोर्टको प्रारम्भिक विश्लेषण पछि रविसँग बयान लिन शुरु गरेको थियो । रवि जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रतिनिधिको रोहबरमा प्रहरीलाई बयान दिन राजी भएका थिए ।
तर, रविले बयानका क्रममा ‘थुप्रै झूटा’ कुरा उल्लेख गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले दाबी गरे ।
अनुसन्धान अधिकारीका अनुसार रविले यसअघि आफ्नो फेसबूकमा लेखिएका स्टाटसका सम्बन्धमा समेत झूट बोलेका छन् ।
बयानका क्रममा रविलाई ‘शालिकरामको आत्महत्याबारे कसरी थाहा भयो ?’ भनेर सोधिएको थियो । रविले उक्त कुरा सञ्चारमाध्यमबाट थाहा पाएको बताएका छन् ।
त्यसपछि शालिकरामले ‘आत्महत्या’पूर्व मोबाइलमा रेकर्ड गरेको भिडियोबारे पनि बयानमा प्रश्न सोधियो । तर, रविले भने आफूले उक्त भिडियोबारे आफूलाई कुनै जानकारी नभएको बयान दिएका छन् ।
साथै, पुडासैनीले उनीमाथि लगाएका आरोपका बारेमा समेत प्रहरीले बयानका क्रममा प्रश्न सोधेको थियो । तर, रविले पुडासैनीले लगाएका आरोपबारे आफूलाई केही थाहा नभएको बताए ।
पुडासैनीले भिडियोमा बोलेको कुरा उल्लेख गर्दै प्रहरीले रविसँग बयानका क्रममा प्रश्न सोधेको थियो । जवाफमा रविले ती सबै कुरा गलत र निराधार भएको बताएका छन् ।
एक अनाईन पत्रिकाको सम्पर्कमा आएका अनुसन्धान अधिकारी भने बयानका क्रममा रविले आफ्नै फेसबूक स्टाटसलाई गलत प्रमाणित गर्ने गरी झूट बोलेको बताउँछन् ।
अनुसन्धान अधिकारीका अनुसार पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रेडर्क गरिएको भिडियो सार्वजनिक भएपछि फेसबूकमा एउटा सन्देश (स्टाटस) लेखेका छन् । जसमा उनले भनेका छन्– सारा आरोप सुन्दा लाग्यो शालिकरामलाई ठूलो भ्रम परेको रहेछ ।
रविले उक्त फेसबूक स्टाटसमा लेखेका छन्, ‘आरोप लगाउने मरेर गएपनि आरोप खेप्ने म जिउँदै छु । मर्नेले लगाएको एउटा मात्रै आरोप प्रमाणित होस्, र हदेसम्मको सजाय होस् । थप जानकारी केही समयमा गराउने छु । सारा आरोप सुन्दा लाग्यो शालिकरामलाई ठूलो भ्रम परेछ ।’

पत्रकार पुडासैनीले ‘आत्महत्या’ अगाडि रेकर्ड गराएको भनिएको भिडियो सार्वजनिक भएको दिन (साउन २९ गते बुधबार) अपराह्न ४:४९ बजेतिर रविले उक्त स्टाटस फेसबूकमा अपलोड गरेका छन् ।
अनुसन्धान अधिकारी यही विषयमा प्रश्न गर्दै भन्छन्, ‘यदि उनलाई भिडियोका विषयमा कुनै जानकारी थिएन । प्रहरीले सुनाउनुभन्दा अगाडि पुडासैनीले लगाएका आरोपबारे पनि केही थाहा थिएन भने त्यो दिन फेसबूकमा कुन आधारमा स्टाटस लेखे ? यो त सरासर झूट बोल्ने काम भएन र ?’
यद्यपि, अहिलेसम्म प्राप्त प्रमाणहरुको थप विश्लेषण गर्दै अनुसन्धान कार्य जारी रहेको ती अनुसन्धान अधिकारीको भनाइ छ । (साभार : खबरहब डटकम)





