नेपालको असन्तुष्टिः ‘पहिले खनाललाई, अहिले मलाई अपमान’



०२ भदौ २०७६, काठमाडौं

एकीकरणको १५ महिना बितिरहँदा नेकपाभित्र वरियताको बारेमा एउटा तरङ्ग उत्पन्न भएको छ।

आइतबार बसेको नेकपा सचिवाललय बैठकले यसअघि तेस्रो वरियतामा रहेका वरिष्ठ नेता माधव कुमार नेपाललाई चौंथो वरियतामा पुर्यायो।

त्यस्तै यसअघि चौंथो वरियतामा रहेका नेकपाका नेता झलनाथ खनाललाई बैठकले तेस्रो वरियतामा पुर्याएसँगैं नेता माधव कुमार नेपालले असन्तुष्टि जनाएका हुन्, समाचारहरु आइरहेका छन्।

गत ३ जेष्ठ २०७५ को तत्कालीन दुई पार्टी(एमाले र माओवादी)बीच पार्टी एकीकरणको घोषणा हुँदा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को जोडबलमा नेता नेपाललाई तेस्रो वरियातामा ल्याइएको थियो।

त्यतिबेला नेता खनाल चीन भ्रमणमा थिए। चीन भ्रमणबाट फर्किएलगत्तै नेता खनालले उक्त निर्णयप्रति चर्को असन्तुष्टि जनाएका थिए। साथै उनले उक्त विषयमाथि पुनर्विचार गर्नुपर्ने भन्दै सचिवालय बैठकमा माग गर्नसमेत भ्याएका थिए।

त्यतिबेलाको उनको मागबारे अध्यक्षद्वयलगायत अन्य नेताहरु मौन बसेका थिए।

‘अध्यक्षद्वयको कार्यविभाजन’

वरियतामा आफू घटुवामा परेका नेता माधव कुमार नेपालले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कार्यविभाजन हुनुपर्ने माग गरेका छन्।

गएराती सम्पन्न पार्टीको सचिवालय बैठकमा नेता नेपालले सरकार र पार्टी सञ्चालनका विषयमा पनि कार्यविभाजन हुनुपर्ने माग गरेका हुन्।

सचिवालय बैठकमा वरियताका विषयमा छलफल चल्दा मौन असन्तुष्टि जनाएका नेता नेपालले अध्यक्षद्वयको कार्यविभाजन नहुँदा पार्टी नै संकटमा परेको धारणा व्यक्त गरे।

उनले एक अध्यक्षले सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्षले पार्टी सञ्चालन गर्नेगरी कार्यविभाजन हुनुपर्ने माग राखेका एक सचिवालय सदस्यले बताए।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जान लागेकाले ओली फर्किएपछि मात्र यो विषयमा छलफल हुने छ।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भने ओली आफैले पार्टीको नेतृत्व लिन प्रस्ताव गरेका स्रोतको दावी छ।

‘ओलीको त्रुटी’

बैठकमा वरियताको विषयमा कुनै प्रतिवाद नगरेका नेता नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीको त्रुटी औंल्याएका छन्।

झलनाथ खनालसँग बदला लिन आफूलाई तेस्रो वरियता दिएको र अहिले आफूसँग बदला लिन खनाललाई अघि सारेको उनले बताए। नेता नेपालले तत्कालीन एमालेमा उपाध्यक्षभन्दा तल रहेका नेताहरु अहिले नेकपाको सचिवालयमा रहेको भन्दै त्यो त्रुटी सच्याउन पनि प्रस्ताव अघि सारेका छन्।

केही दिनअघि पार्टी सचिवालय बैठकमा वरियता हेरफेरको विषय उठेपछि नेता नेपालले एक व्यक्ति एक पदको विषय अगाडि बढाउने तयारी गरेका हुन्।

शुक्रबारको सचिवालय बैठकमा पूर्व प्रधानमन्त्री एवं सचिवालय सदस्य झलनाथ खनालले नेकपामा हाल रहेको वरियता सच्याउनुपर्ने माग गरेका थिए।

खनालको प्रस्तावमा अध्यक्षद्वयको समर्थनलाई नेपालले आफूलाई अपमानित गर्न र किनारामा पार्न खोजेको अर्थमा बुझेका छन्। ‘पहिलो पनि दुई अध्यक्षहरु मिलेरै निर्णय गर्नु भएको हो। प्रदेशको इन्चार्जसम्मको अवस्था त्यही थियो’ नेपाल निकट एक नेताले दावीका साथ भने।

पार्टीभित्र बनेको नयाँ समीकरणमा राष्ट्रपति विद्यादेवी भण्डारीका सक्रियतामा भूमिकाको बारेमा पार्टीभित्रका नेताहरुले समेत उठाएका छन्।

पहिलो चरणमा अध्यक्ष तथा प्रधानमन्त्री ओली, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेलबीच भण्डारीको पहलमा छलफल भएको र त्यसमा पछि खनाललाई पनि सहभागी गराइएको थियो।

‘पहिले खनाललाई अहिले मलाई अपमानित’

आफू वरियतामा घटुवामा परेपछि असन्तुष्टि जनाउँदै आएका नेता नेपालले धनुषा पुगेर वरियताका विषयमा बोलेका छन्।

नेता नेपालले  पहिले खनाललाई र अहिले आफूलाई अपमान गर्न खोजिएको तर्क गरे।

धनुषाको बरमझियामा शहीद रामवृक्ष यादवको स्मृतिसभामा सहभागी हुन सोमबार नेकपा अध्यक्ष पुष्पकमल दाहालसहित नेता नेपाल जनकपुर पुगेका थिए। उनले अध्यक्ष दाहालकै सामुन्ने आफ्नो मर्यादाक्रमलाई लिएर असन्तुष्टि जनाए।

‘पार्टीमा भएको गल्तीका कारण मलाई अपमानित गर्ने कोशिस भएको छ,’ विमानस्थलमा संवाददातासँग नेता नेपालले भने, ‘पूर्व एमालेको विधान बमोजिम झलनाथ खनाललाई पहिलो चरणमा अपमानित गरियो। दोस्रो चरणमा मलाई पनि अपमानित गर्ने कोशिस भएको छ। राजनीतिमा गल्ती गर्नु हुँदैन। गल्तीहरु भएका छन्।’

उनले पार्टीको मर्यादाक्रम सच्याउनुपर्ने बताए। ‘नेकपाको सचिवालयमा वरिष्ठ व्यक्तिहरु परेका छैनन्। कनिष्ठहरु परेका छन्। उप महासचिवस्तरको व्यक्तिहरु समेत छुटेका छन्,’ नेपालले भने।

प्रतिक्रिया दिनुहोस्