सिन्धुलीको पर्यटन प्रवर्द्धनमा पर्यटनमन्त्री भट्टराईको चासो (भिडियो सहित)



३२ साउन २०७६, काठमाडौं

काठमाडौंमा आयोजित खुर्काेट स्वास्थ्य सेवा सहकारी संस्थाको सातौंं वार्षिक साधारण सभामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सिन्धुलीको पर्यटन प्रवर्द्धनमा आफ्नो चासो रहेको बताएका छन् ।

सुनकोशी सामुदायिक अस्पतालको सभामा पर्यटनमन्त्रीको मन्तव्य :

ऐतिहासिक गढी र किल्ला भएको सिन्धुली जिल्लामा पर्यटन विकासको सम्भावना प्रचुर रहेको बताउँदै मन्त्री भट्टराईले सुनकोशी सामुदायिक हस्पिटलको स्तरोन्नतिको लागि समेत नेपाल सरकारबाट दिने अनुदानमा आफूले पहल गर्ने आश्वासन समेत ब्यक्त गरे ।

पर्यटनमन्त्रीले राजमार्गको छेउमा रहेको सुनकोशी सामुदायिक अस्पताललाई अत्याधुनिक ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्ने सुझाव दिएका छन् । उनले मध्यपहाडी, मदनभण्डारी, बीपी राजमार्गजस्ता महत्वपूर्ण राजमार्ग रहेको सिन्धुलीले आर्थिक विकासमा चाँडैनै फड्को मार्नसक्ने समेत बताए ।

नेकपा केन्द्रीय सदस्य तथा सिन्धुलीका संघीय सांसद गणेश कुमार पहाडीले पर्यटनको पूर्वाधार विकासको क्षेत्रमा सिन्धुलीका स्थानीय तहले मिलेर काम गर्नुपर्ने बताए ।

खुर्काेट स्वास्थ्य सेवा सहकारी संस्थाले गोलञ्जोर गाउँपालिका वडा नं. ७ मा सुनकोशी सामुदायिक अस्पताल संचालन गरेको छ ।

संस्थाका अध्यक्ष केशव देवकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भानुहरि भण्डारीले संचालन, उपाध्यक्ष डा. विश्वनाथ कोइरालाले अस्पतालको स्थापना देखि प्रदान गरिरहेका सेवाहरुको बारेमा जानकारी, कोषाध्यक्ष तारा कुमार श्रेष्ठले अस्पतालको आर्थिक अवस्थाबारे जानकारी गराएका थिए ।

खुर्काेट स्वास्थ्य सेवा सहकारी संस्थाको साधारण सभाले भानुहरि भण्डारीको संयोजकत्वमा नीति निर्माण, विकास तथा प्रवर्द्धन स्वास्थ्य उपसमिति गठन गरेको छ । उपसमितिको सदस्यहरुमा धीरप्रसाद भण्डारी, रामहरि कोइराला र हिरा लामा रहेका छन् ।

यसैगरी चक्रबहादुर श्रेष्ठको संयोजकत्वमा सहकारी विकास तथा प्रवद्र्धन उपसमिति गठन गरिएको छ । उपसमितिको सदस्यहरुमा नवराज कार्की, कृष्णकुमार श्रेष्ठ, चन्द्रकला देवकोटा, अर्जुन अधिकारी, अन्जनी कोइराला र मुरारी भण्डारी छन् ।

प्रतिक्रिया दिनुहोस्