
३१ साउन २०७६, काठमाडौं
हामी सबैले पानी परेको देखेका छौं। तर, प्लाष्टिक सहितको पानी परेको बारेमा भने सुनेका पनि छैनौं।
तर, हालसालै अमेरिकामा गरिएको एक अध्ययनअनुसार अहिले प्लाष्टिकका कणसहितको वर्षा भइरहेको पाइएको छ। यो सर्वेक्षण अमेरिकी भूगर्भीय सर्वेक्षण र अमेरिकी विभागका वैज्ञानिकहरुले गरेका हुन्।
वैज्ञानिकहरुले नांगो आँखाले प्लाष्टिक देख्न नसकेपछि माइक्रोस्कोप र डिजिटल क्यामेराको माध्यममा वर्षामा प्लाष्टिकको कण भेटेका हुन्। सर्वेक्षणको क्रममा वर्षायाममा परेको पानीमा ९० प्रतिशत प्लाष्टिकका कण देखिएको हो।
सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रभन्दा शहरी क्षेत्रमा बढी मात्रामा प्लाष्टिक कण भेटिएको छ। पहाडी क्षेत्रको समुद्री सतहबाट १०४००फिटको उचाइमा संकलन गरिएको पानीमा प्लाष्टिकका कणहरु भेटिएका छन्।
यद्यपि यो स्पष्ट हुन नसकेपनि प्लाष्टिक कहाँबाट आयो भन्ने कुरा सोचनीय विषय भएको छ। पछिल्लो समयमा प्लाष्टिकको बढ्दो प्रयोग विश्वमै गम्भीर समस्या भएको छ।
यस अध्ययनपछि विभिन्न प्रश्नहरु उठिरहेका छन् कि हावा, पानी र माटोमा कति प्लाष्टिक जम्मा हुँदैछ। यसअघि वैज्ञानिकहरुले वर्षामा प्लाष्टिकका स–साना कणहरु पत्ता लगाएका थिए।
दक्षिणी फ्रान्समा वैज्ञानिकहरुले वर्षासँगै प्लाष्टिकका कण खसेको देखेका थिए। त्यतिबेला समुद्रमा कैंयौं प्लाष्टिकका टुक्राहरु तैरिरहेको भेटिएको थियो।





