सशक्त आक्रमणमा परी १४ जनाको मृत्यु



३१ साउन २०७६, काठमाडौं

म्यानमारका सुरक्षाकर्मीहरु रहेको ठाउँमा विद्रोही समूहले गरेको सशक्त आक्रमणमा परी १४ जनाको ज्यान गएको छ।

विद्रोहीले आक्रमण गरेपछि बिहीबार सैनिकहरुले पनि प्रतिवाद गर्दा दोहोरो भिडन्त भएको म्यानमारको प्रहरीले जानकारी दिएको छ। सैनिक प्रतिष्ठानमा रहेका सुरक्षाकर्मीहरुलाई विद्रोहीहरुले लगातार आक्रमण गरेका बताइएको छ।

म्यानमारमा आदिवासी जनजातीहरूको विद्रोही समूहले एक दशकदेखि सरकारी सुरक्षाकर्मीविरुद्ध समयसमयमा आक्रमण गर्दै आइरहेको छ। बिहीबारको आक्रमण पर्यटकीय क्षेत्रको रुपमा चिनिने मण्डलेय नजिकैको ठाँउमा भएको अधिकारीहरुले जनाएका छन्।

आक्रमण भएको सैनिक प्रतिष्ठानको छेउमा रहेको प्रहरी कार्यालयमा पुगेका एएफपीका एक जना समाचारदाताले सात जना सैनिक र चार जना प्रहरीको शव देखेको बताएका थिए ।

सैन्य प्रवक्ता जाव मिन तुनले भने तीन जनाको मृत्यु भएकोमा दुई जना सैनिक र एक जना सर्वसाधारणको मृत्यु भएको बताएका छन्। उनले बिहीबार दिउसो समाचार तयार गर्दासम्म भिडन्त जारी रहेको जानकारी दिए।

अहिलेसम्म मृत्यु हुनेको सङ्ख्या कम्तीमा १४ पुगेको समाचारमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्