
३० साउन २०७६, काठमाडौं
नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको प्रकरणमा प्रहरीले ओखलढुंगाकी युवती रुकु भन्ने अस्मिता कार्कीलाई पक्राउ गरेको छ । नर्ससमेत रहेकी कार्कीलाई जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो ।
कार्की पक्राउ परेसँगै प्रहरीले रवि र युवराजमाथि पनि निगरानी बढाएको छ । स्रोतका अनुसार अस्मितालाई रविकै समूहका सदस्यले नियन्त्रणमा राखेका थिए । तर प्रहरीको टोलीले उनलाई पक्राउ गरेर चितवन लगेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दान मल्लले पुडासैनी हत्या प्रकरणको अनुसन्धान अघि बढिसकेकाले रवि र युवराज पनि प्रहरीको निगरानीमा रहेको बताएका छन्। हाम्रो अनुसन्धान अघि बढिसकेको छ, पुडासैनीले नाम लिएका तीनैजना पक्राउ पर्छन् भनेर मल्लले बताएका छन् ।
पुडासैनीले आत्महत्या गर्नुअघिको करिब ८ मिनेट लामो भिडियो नै बुधबार सार्वनजिक भएपछि प्रहरीमाथि तीव्र दबाब परिरहेको अवस्थामा कार्की पक्राउ परेकी हुन् । पत्रकार पुडासैनीले आत्महत्या गर्नुअघि खिचेको भिडियो र रेकर्ड गराएको अडियो प्रहरीले नै गायब गरेको आरोप लागिरहेका बेला बिहीबारै ल्याव रिपोर्ट चितवन पुग्दैछ ।





