
२८ साउन २०७६, काठमाडौँ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले महोत्तरीको भंगाहा नगरपालिका-८ का वडा सदस्य कारी साहका छोरा मुकेशलाई एक लाख ६० हजार घुससहित रंगेहात पक्राउ गरेको छ ।
साहले सेवाग्राहीलाई घुसका रकम लिन जनकपुरधामका पिडारी चौकमा रहेका राष्ट्रिय बाणिज्य बैंकको तल बोलाएका थिए । विशेष सूचनाको आधारमा अख्तियारको बर्दिबासबाट खटिएका टोलीले साहलाई कमिसनको रकम सहित पक्राउ गरेको हो ।
वडाअध्यक्ष मो.रफिक आलमसँग मिलोमतो गरी वडा सदस्य कारीले आफ्नो छोरा मुकेशलाई घुस रकम लिन पठाएको बताइएको छ । वडाध्यक्ष आलम र वडा सदस्य कारीलाई भंगहाबाट पक्राउ गरिएको छ । अख्तियारको टोलीले दुवैलाई भंगहा नगरपालिका क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई अख्तियारको बर्दिवास कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको उपसचिव घिमिरेले बताएका छन् ।





