
२८ साउन २०७६, काठमाडौँ
अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको नुवाकोटमा आफ्नै ज्वाइँको खुकुरी प्रहारबाट तीनजना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट श्रीमती, सासू र सालो घाइते भएका हुन् ।
भुमिकास्थान नगरपालिका-६ खमारीबासका २७ वर्षीय चिरन घर्तीले सोमबार राति भुमिकास्थान नगरपालिका- ८ लम्चीमा ससुरालीमा आएर १८ वर्षीया श्रीमती गीता घर्ती, ४३ वर्षीया सासू भुमकला क्षेत्री र ११ वर्षीय सालो अर्जुन क्षेत्री माथि खुकुरी प्रहार गरेका थिए ।
खुकुरी प्रहार गरेर तीनैजनालाई घाइते बनाएपछि उनी फरार छन् । घाइते तीनैजनालाई चितवनको पुरानो मेडिकल कलेजमा पठाइएको प्रहरीले बताएको छ ।
पहिलेदेखि घरमा झगडा हुन थालेपछि चिरनकी श्रीमती माइतमा बस्दै आएकी थिइन् । दुई वर्षअघि श्रीमान श्रीमतीको झगडा प्रहरी चौकी खिल्जीमा छलफलपछि मिलाएको थियो । मुख छोपेर ससुरालीमा आएका उनले परिवारमा रहेका तीनैजनालाई खुकुरी प्रहार गरी भागेका हुन् । फरार रहेका उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।





