साउन ३० र ३१ गते अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको विशेष प्रस्तुती हुँदै



२७ साउन २०७६, काठमाडौ

अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुले यहि साउन ३० गते अरबिन्दोयोग मन्दिर थानकोटमा  र ३१ गते डिएभी स्कुल जाउलाखेल ललितपुरमा बिशेष प्रस्तुति गर्ने भएका छन ।

श्री अरविन्द योग मन्दिरको आयोजनामा महर्षी श्री अरविन्दको १४७ औँं जन्मोत्सवको अबसरमा अन्तर्राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुद्वारा उडिसी नृत्य, शास्त्रीय सङ्गित, सांस्कृतिक कार्यक्रमका साथै आध्यात्मिक सत्संग हुने जानकारी योगमन्दिरका गुरु रामचन्द्रदाशले जानकारी गराएका छन् ।

ख्याति प्राप्त कलाकारहरुमा सौभाग्य नारायण छोटरे, लोप्पा मुद्रा जेना, प्रकाश चन्द्र मोहपात्र, राजेश कुवंर लेङ्का, भागिरथी शाही, विधेय भुसाल, दिव्या श्री साहु, मिता बेहेरा रहेका छन् । पहिलो दिन आश्रम परिसरमा निर्मित मन्दिरको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

महर्षि श्री अरविन्दको योगसाधना, सामुहिकजीवन शैली र कर्मयोगलाई आत्मसात गरी श्री अरविन्द योग मन्दिर, थानकोटले २६ वर्ष देखि जैविक खेति, गाईपालन, कपडा बुनाई, सिलाई कटाई लगायत धेरै प्रकारका कार्यक्रम पनि संचालन गर्दै आएको छ ।

गरीब जेहन्दार, बाबुआमाबिहीन २५० जनाभन्दा बढी बालबालिकालाई आश्रममै राखेर अध्ययन अध्यापन पालपोषण पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्