सोलुखुम्बुमा नगरपालिकाले एक वर्षमै बनायो चार वटा मोटरेबल पुल (फोटो फिचर)



२७ साउन २०७६, काठमाडौं

सोलुखुम्बुकोे सोलुदूधकुण्ड नगरपालिकाले आफ्नै लगानीमा एक वर्षभित्र चारवटा मोटरेबल पुल निर्माण सम्पन्न गरेको छ । पुल निर्माणपछि आवतजावतमा सहज भएकोले सबै गाउँका बासीन्दाहरु खुसी प्रकट गरेका छन् ।

लोदिङ खोलामा निर्माण भएको पुल:
आर्थिक वर्ष २०७५ /७६ को बजेटबाट नगरपालिकाले तीन वटा बेलीब्रिज र एउठा पक्की पुल निर्माण गरेको नगरपालिकाका सूचना अधिकारी दापासा शेर्पाले जानकारी दिएका छन् । उनका अनुसार वडा नम्बर ३ तामाखानीको लोदिङ खोलामा रु.एक करोड ६६ लाख २६ हजारको लागतमा बेलीब्रिज निर्माण सम्पन्न भएको बताएका छन् ।

वेनी खोलमा बनेको बेलीब्रिज:
नगरपालिकाको वडा नम्बर २ स्थित बेनीखोलामा रु. एक करोड ४२ लाख लागतमा २१ मिटर लम्बाई र १० फिट चौडाई भएको बेलीब्रिज निर्माण भएको छ । पुल निर्माणपछि बर्षाको समयमा सवारी आवागमन अवरुद्ध हुने समस्या समाधान भएको स्थानीयले प्रक्रिया दिएका छन् ।

गोराखानी र टाप्टिङको बिचमा सोलनासा खोलामा निर्माण पुल:
गोराखानी र टाप्टिङको बिचमा रहेको सोलनासा खोलामा निर्माण भएको बेलीब्रिज नगरपालिकाको वडा नम्बर ९ र १० लाई जोड्ने गोराखानी र टाप्टिङको बिचमा रहेको सोलनासा खोलामा पनि बेलीब्रिज निर्माण भएको छ । नगरपालिकाको रु.  एक करोड ६२ लाख ६६ हजारको लागतमा बेलीब्रिज निर्माण भएपछि दुर्गम गाउँलार्ई सुगम स्थानसँग जोडेको स्थानीयको प्रतिक्रिया छ ।

खोरियामा बनेको मोटरेबल पुल:
नगरपालिको वडा नं. ६ खोरियास्थित सोलुखोलामा काम थालेको १० महिनामै मोटरेबल पुल बनेको छ । नगरपालिकाकोे नेतृत्वमा अपरसोलु हाईड्रो पावर र जिल्ला समन्वय समिति समेतको करिब पाँच करोड रुपियाँको संयुक्त लगानीमा सिई कन्स्ट्रक्सनले ७५ टन भारवहन क्षमताको ३० मिटर लामो मोटरेबल पुल निर्माण गरेको हो । नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले विभिन्न स्थानमा मोटरेबल पुल निर्माणले नगर समृृद्धिको यात्रामा अघि बढिरहेको सन्देश प्रवाह गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्